क्यानडा पठाइदिने भन्दै ४० लाख ठगी, १ जना पक्राउ

क्यानडामा पठाइदिने नाममा आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट ४० लाख रकम लिई सम्पर्कविहीन भएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौँ– वैदेशिक रोजगारका लागि क्यानडा पठाइदिने भन्दै ४० रुपैयाँ लाख ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ठगीको आरोपमा प्रहरीले काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बेँसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखियालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

“बेरोजगार युवालाई वैदेशिक रोजगारीमा पठाउने भनी आकर्षक तलबको प्रलोभनमा पारी पीडितबाट ४० लाख रकम लिई विदेश नपठाई सम्पर्कविहीन भएकामा पीडितमध्येका एक जना लेखनाथ भुर्तेलले जाहेरी दिई अनुसन्धान हुँदा विदेश पठाउने भनी ठगी गर्ने निज सुदेश सुनुवार मुखियालाई काठमाडौँ बौद्धबाट पक्राउ गरी सार्वजनिक गरिएको हो,” काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले भने।

मुखियालाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको उनले बताए।

कार्यालयको टोलीले विभिन्न कम्पनीका मोबाइल कर छलेर ल्याइ बचेको आरोपमा अर्का एक जनालाई पनि पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ घरभई हाल ललितपुर महानगरपालिका–८ बालकुमारी बस्ने २२ वर्षीय सरोज योञ्जन रहेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।

उनका अनुसार ललितपुरको बालकुमारी क्षेत्रमा विभिन्न कम्पनीका मोबाइल राजस्व/भन्सार छली चोरी–पैठारी गरी ल्याई बिक्री वितरण गर्ने गरेको भन्ने गोप्य सूचनाका आधारमा छापा मार्दा योञ्जनले सञ्चालन गरेको ट्रेन्डिङ मोबाइल हबबाट राजस्व छलीका १५ लाख मूल्यका ३५ थान मोबाइल बराम गरिएको थियो। उक्त कार्यमा संलग्न योञ्जनलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान विभाग पठाइएको उनले बताए।

त्यस्तै, स्रोत नखुलेको १८ लाख ५० हजार रुपैयाँसहित चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट दुई जनालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा रुपन्देही तिलोत्तमा नगरपालिका-११ का २३ वर्षीय रिसब श्रेष्ठ र ३७ वर्षीय देवेन्द्र न्यौपाने रहेको केन्द्रीय प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

उनका अनुसार प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले लु२ख ४५३५ नम्बरको बस जाँच गर्ने क्रममा बसका सहचालक रिसबलाई उक्त नगदसहित पक्राउ गरेको थियो। साथै थप अनुसन्धानका क्रममा उक्त रकम देवेन्द्र न्यौपानेले काठमाडौँ पुर्‍याइदिनु भनी श्रेष्ठलाई दिएको खुल्न आएपछि न्यौपानेलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान थालिएको प्रवक्ता ढकालले बताए।