काठमाडौँ र ल्हासाबीच बससेवा सञ्चालन गर्न चीन सकारात्मक: उपप्रधानमन्त्री श्रेष्ठ

नेपालीलाई चीनको तिब्बतमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उनले जानकारी दिए।

काठमाडौँ– उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले आफ्नो चीन भ्रमणले दुई मुलुकबीचको आपसी सद्भाव, सम्मान र विश्वासलाई थप सुदृढ बनाउन महत्त्वपूर्ण भूमिका खेलेको विश्वास व्यक्त गरेका छन्।

जनवादी गणतन्त्र चीनको ९ दिने औपचारिक भ्रमण पूरा गरी सोमबार स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भ्रमणबाट दुई देशको विद्यमान ऐतिहासिक मित्रवत् सम्बन्धलाई अझ उचाइमा पुर्‍याएको उल्लेख गरे।

“नेपाल–चीनबीच भएका सहमतिहरूको प्रभावकारी कार्यान्वयन तथा विद्यमान संयन्त्रको नियमित बैठक बसी आपसी सहयोगलाई थप गतिशील बनाउन दुवै पक्ष सहमत भएका छन्,” उपप्रधानमन्त्री श्रेष्ठले भने, “मेरो यस भ्रमणले नेपाल र चीनबीचको आपसी सम्बन्धलाई थप गहिराइ र सम्मानलाई थप उचाइ प्रदान गरेको छ ।”

नेपालको काठमाडौँ र चीनको तिब्बत स्वशासित क्षेत्रको ल्हासाबीच सीधा बससेवा पुनः सञ्चालन गर्न दुवै पक्ष सकारात्मक भएको, भैँसीको मासु, वनस्पतीजन्य औषधि उत्पादन, तरकारी तथा फलफूललगायतका नेपाली वस्तुहरूको निर्यातमा सहजीकरण गर्न आफूले अनुरोध गर्दा चिनियाँ पक्ष सकारात्मक देखिएको र आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको उपप्रधानमन्त्री श्रेष्ठले बताए।

सन् २०१२ मा दुई देशबीच भएको सम्झौताबमोजिम सीमा क्षेत्रमा बसोबास गर्ने नेपालीलाई चीनको तिब्बतमा चरन भूमि प्रयोग गर्न दिन र सीमावर्ती केही नेपाली गाउँमा विद्युतीकरण गर्न चिनियाँ पक्ष सकारात्मक भएको उनले जानकारी दिए। यस्तै, सीमाका केही क्षेत्रमा बहुआयामिक प्रयोगशाला स्थापना र नेपालको कृषि क्षेत्रको उत्पादकत्व बढाउनका लागि आवश्यक पूँजी र प्रविधि उपलब्ध गराउन गर्न आग्रह गरिएको पनि उनले बताए।

भ्रमणका अवसरमा नेपालको काठमाडौँ र पोखरा तथा चीनका विभिन्न सहरबीच थप हवाई उडान सञ्चालनमा ल्याउन दुवै पक्ष सहमत भएका छन्। यसले दुई देशबीचको व्यापार तथा जनस्तरको सम्बन्ध विस्तार गर्न तथा नेपालमा थप चिनियाँ पर्यटक भित्र्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ।

यसैगरी अन्तरदेशीय सडक, रेलवे, हवाई उडान, विद्युत् प्रसारण लाइनआदिको विस्तार गरी नेपाल–चीनबीचको कनेक्टिभिटीलाई थप विस्तार गर्न दुवै पक्षले तत्परता देखाएका छन्। कृषि, पर्यटन, जलविद्युत् र पूर्वाधार क्षेत्रमा ठोस आयोजनाहरू बनाई कार्यान्वयन गर्दै जान दुवै पक्ष सहमत भएका छन् ।

काठमाडौँमा आगामी वैशाख १६ र १७ गते आयोजना हुने लगानी सम्मेलनमा सरकारी तथा निजी क्षेत्रका चिनियाँ लगानीकर्ताको बढीभन्दा बढी सहभागिताका जनाउन, नेपाल भ्रमण वर्ष २०२५ सफल बनाउन र चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरिएको पनि उनको भनाइ छ।