झन्डै २९ प्रतिशतले बढे विदेशी पर्यटक

मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक नेपाल आएका छन्। भारतपछि चिनियाँ पर्यटकको संख्या धेरै छ।

काठमाडौँ– यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको संख्या झन्डै २९ प्रतिशतले बढेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको मार्च महिनाको तुलनामा यस वर्षको मार्चमा नेपाल भित्रने विदेशी पर्यटकको संख्या २८.९ प्रतिशत अर्थात् २८ हजार ७४१ जनाले वृद्धि भएको हो।

गत वर्षको मार्चमा कुल ९९ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएकोमा यस वर्षको सोही अवधिमा एक लाख २८ हजार १६७ पर्यटक नेपाल आएका छन्। मार्चमा सबैभन्दा बढी भारतीय पर्यटक आएका छन्। भारतबाट सो अवधिमा ३० हजार ६९८ पर्यटक नेपाल आएका छन्। चिनियाँ पर्यटकको संख्या भने १२ हजार ९३ छ। 

बोर्डका अनुसार सो अवधिमा अमेरिकाबाट १० हजार ७७३ र बेलायतबाट सात हजार २४१ जना, श्रीलंकाबाट पाँच हजार ७४१, जर्मनीबाट पाँच हजार २५५, थाइल्यान्डबाट चार हजार ३४५, फ्रान्सबाट तीन हजार २४० र म्यानमारबाट तीन हजार १३१ जना विदेशी पर्यटक नेपाल आएका छन्।

यस वर्षको जनवरीमा ७९ हजार १०० र फेब्रुअरीमा ९७ हजार ४२६ विदेशी पर्यटक नेपाल भित्रिएका थिए। सन् २०२३ को पहिलो तीन महिनामा दुई लाख २७ हजार ७५५ जना विदेशी पर्यटक नेपाल भित्रिएकोमो सन् २०२४ को पहिलो तीन महिनामा तीन लाख चार हजार ६९३ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन्। जुन ३३.७८ प्रतिशतले बढी हो।