न्यारोबडी जहाजको इन्जिन प्रकरणमा बदमासी नगरेको आधार पेस गर्न संसदीय समितिको निर्देशन

संसदीय समितिले न्यारोबडी जहाजको इन्जिन प्रकरणमा १५ दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ।

काठमाडौँ– संसदीय समितिले न्यारोबडी जहाजको इन्जिन प्रकरणमा १५ दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ। सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी, पर्यटनमन्त्री हितबहादुर तामाङलगायतका सरोकारवालासँग छलफल गरेको थियो।

त्रिभुवन विमानस्थलभित्र जहाज ग्राउन्ड ह्यान्डलिङको विषय, ईयू प्रतिवेदनले औँल्याएको समस्या, न्यारोबडी जहाज खरिद प्रकरणमा भएको भ्रष्टाचार, नेपाल वायुसेवा निगमको बिग्रिएको दुई न्यारोबडी जहाज इन्जिन मर्मत नगरी भाडामा लिएर चलाइएको लगायतका विविध विषयमा समितिले निगमका कार्यकारी अध्यक्ष अधिकारीसँग जवाफ मागेको हो।

छलफलका क्रममा निगमका तर्फबाट अधिकारीसँगै सरोकारवालाले समितिमा दिएको जवाफ चित्त बुझ्दो नआएपछि समितिका सभापति राजकिशोर यादवले १५ दिनभित्र न्यारोबडी जहाज प्रकरणमा भ्रष्टाचार नभएको पुष्टि गर्न निगमलाई निर्देशन दिए। “१५ दिनभित्र न्यारोबडी इन्जिन प्रक्रियामा कुनै बदमासी नगरेको समितिलाई विश्वास हुने आधार पेश गर्नू,” उनले भने। 

सभापति यादवले न्यारोबडीसँगै जहाज खरिद सम्झौता र निगमका अधिकारीले त्यसमा भ्रष्टाचार गरेको पाइए कारबाही गर्ने चेतावनी दिए।निगमभित्र विभिन्न समस्या देखिएको र त्यसको मूल जरो भ्रष्टाचार भएको समितिको ठहर छ। समितिले ईयू प्रतिवेदन कार्यान्वयनमा तदारुकता नदेखाएको तथा क्यानले दिएको २७बुँदे निर्देशन कार्यान्वयनको अवस्थाका बारेमा पनि जवाफ खोजेको छ। 

“दुबईको निर्णय किन र कुन परिस्थितिमा भयो? यसका पछाडि के–के कारण छ? व्यावसायिक प्रयोजनका लागि जुन फिजिबल अध्ययन भएको छ त्यो प्लानिङबारे समितिले पनि विज्ञहरूलाई समितिमा ल्याएर अध्ययन गर्छौ र कसरी जाने तय गरौँला। हामीले कोर टिम बनाएर मान्यज्यूहरूलाई तोक्छौँ। ती चार वटा विषय जुन भ्रष्टाचारजन्य लाग्छ, त्यसमा १५ दिनभित्र समितिलाई विश्वास हुने गरी पुष्टि हुने प्रमाणसहित आउनू,” सभापति यादवले भने। 

समिति सदस्य एकनाथ ढकालले क्यान र निगमभित्र देखिएका समस्याको मुख्य कारण नै भ्रष्टाचार रहेको उल्लेख गर्दै समिति बनाएरै छानबिन गर्नुपर्नेमा जोड दिए। उनले निगमलाई ‘सेतो हात्ती’ बन्न दिनु नहुने बताए।

“युरोपियन युनियनले २०२३ मा गरेको अनलाइन एसएसमेन्ट जुन रिपोर्ट थियो त्यसले औँल्याएका विषयमा हालसम्मका प्रगति मान्य सभापतिले सोध्नुभएको थियो, के–के प्रगति भयो भन्ने कुरासमेत आएन। ग्राउन्ड ह्यान्डलिङको अवस्था त्यस्तै छ। जहाज आएको डेढ घण्टासम्म लगेज कुर्नुपर्ने अवस्था उस्तै छ। लगेज फेरि फुटाएरै बाहिर आउँछ। यी सबै समस्याको कारण भ्रष्टाचार नै हो,” उनले भने।