अरविन्द केजरीवाल १५ दिन न्यायिक हिरासतमा रहने

नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अदालतले १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ।

भारतको नयाँ दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाललाई अदालतले १५ दिनका लागि न्यायिक हिरासतमा पठाउन आदेश दिएको छ।

दिल्ली सरकारको मदिरा नीतिमा घोटाला गरेको आरोपमा पक्राउ परेका मुख्यमन्त्री केजरीवाललाई अदालतले अप्रिल १५ सम्म न्यायिक हिरासतमा पठाएको हो।

दिल्लीको राउज अभिन्यू अदालतले यस्तो आदेश दिएको हो। यसअघि केजरीवाल प्रवर्तन निर्देशनालय (ईडी)को हिरासतमा थिए। 

ईडीले भने मदिरा नीतिसम्बन्धी घोटालाका बारेमा सोधपुछ गर्दा मुख्यमन्त्री केजरीवालले सहयोग नगरेको आरोप लगाएको छ। ईडीका वकिल एसभी राजुले केजरीवालले सोधपुछका क्रममा सहयोग नगरेको बताए। उनले आफ्नो फोनको पासवर्ड पनि नदिएको उनको भनाइ छ।

सोमबार राउज अभिन्यू अदालतमा उपस्थित हुँदा केजरीवालले भने, “प्रधानमन्त्री नरेन्द्र मोदीले गरिरहेका कामकारबाही देशको हितमा छैन।”

मुख्यमन्त्री केजरीवाल दिल्ली सरकारको (हाल निष्क्रिय) मदिरा नीतिसँग सम्बन्धित घोटालाको आरोपमा मार्च २१ मा पक्राउ परेका थिए।