६.२६ अंकले घटेको शेयर बजारमा २ अर्ब ८७ करोडको कारोबार

सोमबार गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.२६ अंकले ओरालो लागेको छ। सोमबारको कारोबारमा परिसूचक ०.३१ प्रतिशतले घटेर २०१२.०७ अंकमा सीमित भएको हो।

सोमबार विभिन्न कम्पनीका ७२ लाख ९० हजार २०० कित्ता शेयर ६३ हजार १५ पटक खरिद बिक्री हुँदा दुई अर्ब ८७ करोड ४७ लाख ५४ हजार ३०५ रुपैयाँ कारोबार भयो।

कारोबारमा होटल र पर्यटन समूहको उपसूचक १.१६ प्रतिशत र ट्रेडिङ समूहको उपसूचक ०.२० प्रतिशतले बढेको छ। साथै बाँकी समूहको उपसूचकमा गिरावट देखिएको छ।

गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेड र माई खोला हाइड्रोपावर लिमिटेडको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ भने माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ९.४४ प्रतिशतले बढेको छ।

रिभल फल्स पावर लिमिटेडको शेयरमूल्य ९.९८ प्रतिशतले घटेको छ।हिमालयन हाइड्रोपावर लिमिटेडको ६.२७ प्रतिशत, अपर लाहोर खोला हाइड्रोपावर कम्पनी लिमिटेडको ६.१७ प्रतिशत र धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयरमूल्य ५.७३ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा सोमबार सर्वोत्तम सिमेन्ट लिमिटेड शीर्ष स्थानमा छ। कम्पनीको ४७ करोड २९ लाख १७ हजार ६३२ बराबरको शेयर कारोबार भएको छ।