बुटवल–नारायणगढ सडक निर्माणमा गति बढाउन सांसदको ध्यानाकर्षण

एमालेका सांसद सरिता भुसालले बुटवल–नारायणगढ निर्माणमा सडक पटक–पटक म्याद थप्दा पनि योजना सम्पन्न हुन सक्नुका कारण पहिचान गरी निवारण गर्न सरकारसँग माग गरिन्।

काठमाडौँ– नेकपा एमालेका सांसद सरिता भुसालले बुटवल–नारायणगढ सडक निर्माणमा ढिलाइ हुँदा आम नागरिकले सास्ती भोग्नुपरेकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन्। प्रतिनिधिसभाको सोमबार विशेष समयमा सांसद भुसालले बर्खा शुरू हुनुअघि नै उक्त सडक निर्माण सम्पन्न गर्न माग गरिन्।

“वर्षायाम शुरू हुन लागिसक्यो, यात्रुहरूले धेरै सास्ती भोगिरहेका छन्, जतिसक्दो छिटो सडक निर्माण सम्पन्न हुनुपर्छ,” सांसद भुसालले भनिन्, “सो क्षेत्रको यात्रुहरूले थप सास्ती भोग्न नपरोस् भन्ने कुरामा म सदनमार्फत सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु। पटक–पटक म्याद थप्दा पनि योजना सम्पन्न हुन सक्नुका कारण पहिचान गरी निवारण गर्न सरकारसँग माग गर्दछु।”

विसं. २०७५ माघ २४ गते चाइना स्टेट कन्सट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग ठेक्का सम्झौता गरी २०७५ चैत ८ गतेदेखि सडक विस्तार शुरू भएको भन्दै उनले निर्माणमा असाध्यै ढिलासुस्ती भएको बताइन्। “साढे तीन वर्षमा सडक विस्तार र पाँच वर्षसम्म निर्माण कम्पनीले नै मर्मतको काम गर्ने गरी सम्झौता भएको थियो,” उनले भनिन्, “तर अहिलेसम्म सडक पूर्ण रूपमा निर्माण हुन सकेको छैन।”

निर्माण शुरू भएपछि निर्धारित समयमा काम सम्पन्न नहुँदा दुई पटकसम्म म्याद थप गरे पनि आयोजना समयमै सम्पन्न नहुने निश्चित भएको उनको भनाइ छ।

“गत २०७९ साउनमा आयोजनाको म्याद सिद्धिएपछि एक वर्षको समय थप गरिएको थियो, म्याद थपिएको एक वर्षको समय सकिँदासम्म आयोजनाको प्रगति जम्मा ३८ प्रतिशत पुगेको थियो,” उनले थपे, “सो समयमा पनि काम सम्पन्न हुन नसक्दा गत भदौ ११ गतेबाट लागू हुने गरी आयोजनाले पुनः एक वर्षको समय बढाएको छ तर अझै सम्पन्न भएको छैन।”

पूर्वी नेपाल र पश्चिम नेपाललाई जोड्नुका साथै राजधानी काठमाडौँसँग जोड्ने प्रमुख सडकका रूपमा रहेको यो महत्त्वपूर्ण मार्गको काम तीन वर्षमा सक्ने भनिए पनि पाँच वर्ष बित्दा आधा काम सम्पन्न हुन नसक्नु लज्जास्पद विषय भएको उनले सदन समक्ष राखिन्।

उक्त सडक खण्डबाट यात्रा गर्ने यात्रुहरू धुलो र हिलोका कारण सास्ती भोग्नु बाध्य भएका छन् भने सडक आसपासका बासिन्दा र व्यवसायीहरू झनै प्रभावित भएको उनको भनाइ छ।