बागमतीका मुख्यमन्त्री जम्कट्टेलले तेस्रोपटक पाए विश्वासको मत

पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो।

हेटौँडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्। बागमती प्रदेशसभामा उनले ५६ जना सांसदको मत प्राप्त गर्दै विश्वासको प्राप्त गरेका हुन्।

मुख्यमन्त्री जम्कट्टेलले प्रदेशसभामा रहेका ११० सदस्यमध्ये बहुमत सदस्य ५६ जनाको मत प्राप्त गरेका हुन्। १०८‍ जना प्रदेशसभा सदस्य उपस्थित भएकामा उनलाई सत्ता गठबन्धन दल नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रको २१, नेकपा एकीकृत समाजवादीका सात र हाम्रो नेपाली पार्टीका एक गरी ५६ जनाले विश्वासको मत दिए।

त्यस्तै, नेपाली कांग्रेसका ३७ जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल र नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको छ। राप्रपा नेपालको सभामुखबाहेक १२ र नेमकिपाको तीन मत रहेको छ। प्रदेशसभामा हाम्रो नेपाली पार्टीका एक सदस्य अनुपस्थित भएका छन्।

पहिलो र दोस्रो पटक सजिलै विश्वासको मत पाएका मुख्यमन्त्री जम्कट्टेलले यसपटक विश्वासको मत लिने अन्तिम समयसम्म बहुमत सदस्य जुटाउन कसरत गर्नुपरेको थियो। नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री आलोपालो गर्ने सहमतिपछि विश्वासको मत दिन तयार भएको बताइएको छ। दुई प्रदेशसभा सदस्य रहेको हाम्रो नेपाली पार्टीबाट शैलेन्द्र बज्राचार्यले मात्र विश्वासको मत दिएका छन्। 

सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा नेपालको संविधानको धारा, १८८ को उपधारा २ अनुसार मुख्यमन्त्रीले प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ । कांग्रेसले विश्वासको मत फिर्ता लिएको चैत २२ गते ३० दिन पुग्दै छ। 

यसअघि पहिलोपटक एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ७० प्रदेशसभा सदस्यको समर्थमा २०७९ पुस २५ गते मुख्यमन्त्री बनेका थिए।

संघ सरकारमा समीकरण परिवर्तनसँगै उनले दोस्रोपटक २०७९ चैत १० गते विश्वासको मत लिएका थिए। विश्वासको मत प्राप्त गरेपछि मुख्यमन्त्री जम्कट्टेलले सबैको विश्वासलाई साथमा लिएर प्रदेशवासीको हितमा काम गर्ने बताए।