कर्णालीको मुख्यमन्त्री एमालेलाई दिने सहमति

माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो। 

कर्णाली – सत्ता गठबन्धन दलबीच भएको केन्द्रीय सहमति अनुसारमा कर्णालीमा नेकपा एमालेले मुख्यमन्त्रीको पद पाउने भएको छ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका इन्चार्ज कालीबहादुर मल्लका अनुसार कर्णाली प्रदेशको मुख्यमन्त्री एमालेलाई दिने सहमति भएको हो। 

सत्ता गठबन्धनको केन्द्रीय सहमतिअनुसार पहिलो चरणमा एमालेलाई दिने निर्णयबमोजिम परिपत्रसमेत आएको इन्चार्ज मल्लले बताए। 

“केन्द्रले गरेको सहमतिलाई प्रदेशले मान्नुपर्ने हुन्छ। शीर्ष नेतृत्व बसेर गरेको निर्णयअनुसार गठबन्धन दलकै प्रदेशमा सरकार निर्माण हुन्छ,” उनले भने।  

मुख्यमन्त्री राजकुमार शर्माले मंगलबार विश्वासको मत लिने गरी प्रदेशसभा सचिवालयमा सोमबार पत्र दर्ता गराइसकेका थिए। 

मुख्यमन्त्री शर्माले विश्वासको मत लिने तयारी गरिरहेका बेला विपरीत निर्णय आएपछि अब कर्णालीमा के हुने भन्नेमा अन्योल सिर्जना भएको छ।