रकेटबाट विश्वको जुनसुकै कुनामा पनि एक घण्टामै ‘होम डेलिभरी’

विश्वभरका वैज्ञानिकहरूले केही समयदेखि रकेटलाई यातायातको माध्यमको रूपमा प्रयोग गर्ने सम्भावनाको खोजी गरिरहेका छन्।

प्रतीकात्मक तस्वीर

चीनको रकेट निर्माता कम्पनी स्पेस इपोकले अलिबाबाको अनलाइन सपिङ प्लेटफर्म ताओबासँग मिलेर रकेटबाट फटाफट डेलिभरीको सेवा शुरू गरिने जनाएको छ।

यो कार्यक्रम शुरूआती चरणमा रहेको र अहिले परीक्षणको काम चलिरहेको स्पेस इपोकको भनाइ छ। कम्पनीका अनुसार एउटा यस्तो रकेट निर्माण गरिँदैछ, जसले १२० घनमिटरको कन्टेनरमा दश टन तौल बराबरको सामान बोकेर जान सक्नेछ। उक्त रकेट बारबार प्रयोग गर्न सकिने कम्पनीले बताएको छ।

यसबारे कम्पनीले आफ्नो आधिकारिक वीचैट एकाउन्टमा आइतबार सूचना साझा गरेको हो। तर अलिबाबाले भने यसबारे कुनै टिप्पणी गरेको छैन।

बेइजिङमा रहेको स्पेस इपोकले पुनः प्रयोग गर्न सकिने रकेट बनाउँछ। उसले पछिल्लो पटक युआनशिंग–१ रकेटको परीक्षण पूरा गरेको थियो। जसमा यो रकेट देश बाहिर गएर फर्केको थियो। तर कम्पनीले रकेटबाट डेलिभरीको सेवा शुरू गर्न भने त्यति सजिलो नहुने उल्लेख गरेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङले आफ्ना नीतिहरूमा देशको रणनीतिक उद्योगहरूको विकासमा ठूलो जोड दिएका छन्। यसमा व्यावसायिक अन्तरिक्ष क्षेत्रलाई विशेष महत्व दिइएको छ। स्याटेलाइट निर्माण, रिमोट सेन्सिङ र नेभिगेसन जस्ता क्षेत्रहरूलाई प्रोत्साहन दिइँदैछ।

गत वर्ष चीनले १७ वटा व्यावसायिक रकेट प्रक्षेपण गरेको थियो। तीमध्ये एउटा मात्रै असफल भयो। कुलमा, चीनले पृथ्वीको कक्षमा ६७ वटा उपग्रहहरू पठाएको छ, जुन एक कीर्तिमान पनि हो। यसअघि २०२२ मा १० व्यावसायिक रकेटहरू अन्तरिक्षमा पठाइएका थिए, जसमध्ये दुई असफल भएका थिए।

विश्वभरका वैज्ञानिकहरूले केही समयदेखि रकेटलाई यातायातको माध्यमको रूपमा प्रयोग गर्ने सम्भावनाको खोजी गरिरहेका छन्। एलोन मस्कको कम्पनी स्पेस-एक्सद्वारा निर्मित पुनः प्रयोग गर्न सकिने रकेटको सफलताले यो दायरालाई अझ सम्भव बनाएको छ।

सन् २०२३ मा साइन्स डाइरेक्ट म्यागजिनमा प्रकाशित अनुसन्धानमा जर्मन वैज्ञानिकहरूले ९० मिनेटभन्दा कम समयमा विश्वभरमा यात्रु र सामान ढुवानी गर्न सकिने बताएका थिए। आफ्नो अनुसन्धानमा, उनीहरूले स्पेसएक्स द्वारा विकसित गरिएको स्टारसिप रकेटलाई स्पेसलिनरसँग तुलना गरेर अध्ययन गरेका थिए।

“सस्तो र पूर्ण रूपमा पुनस् प्रयोज्य रकेटको विकासले पृथ्वीमा एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्न नयाँ मार्गहरू खोल्न सक्छ। यसले मानिस र सामानहरू ९० मिनेट भन्दा कम समयमा पृथ्वीको जुनसुकै ठाउँमा ढुवानी गर्न सक्छ,” उक्त अनुसन्धानको निष्कर्ष थियो।

अमेरिकी सेनाले पनि रकेटबाट सामान ढुवानी गर्ने सम्भावनाका विषयमा लामो समयदेखि काम गरिरहेको छ।

“यो विचार अन्तरिक्ष उडान सुरु भएदेखि नै हो, र यो धेरै रोचक विचार हो,” अमेरिकी वायुसेनाका वैज्ञानिक र रकेट कार्गो कार्यक्रम प्रबन्धक डा. ग्रेग स्प्यानियर्सले २०२१ मा भएको एक कार्यक्रममा भनेका थिए, “हामीले यसबारे हरेक पटक सोचिरहेका छौँ। वर्ष तर अहिले सम्म यो सम्भव भएको छैन। तर अहिले प्रविधिको यति धेरै विकास भइसकेको देखिन्छ कि यो सोचलाई कार्यान्वयन गर्न सम्भव छ।”

–एजेन्सीको सहयोगमा