कालीबहादुर खाम पक्राउ

खामलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको परिसर प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले बताए।

काठमाडौँ– कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको अभियोगमा फरार रहेका माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्। 

उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको परिसर प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले बताए। उनी विगत १५ वर्षदेखि फरार रहेका थिए।

खाममाथि २०६५ सालमा व्यापारी श्रेष्ठलाई अपहरणपछि हत्या गरेको अभियोग छ। २०६५ वैशाख १५ गते श्रेष्ठलाई कोटेश्वरबाट नियन्त्रणमा लिई चितवनको शक्तिखोरस्थित माओवादी लडाकुको शिविरमा पुर्‍याइएको थियो। वैशाख २८ गते नारायणी नदीमा श्रेष्ठको शव भेटिएको थियो। 

त्यसपछि श्रेष्ठकी श्रीमती रमिलाले आफ्ना पतिको अपहरण गरी हत्या भएको भन्दै किटानी जाहेरी दिएकी थिइन्। उनले तत्कालीन ‘जनमुक्ति सेना’ तेस्रो डिभिजनका कमान्डर खामलगायत घटनामा संलग्न रहेको भन्दै दिएको जाहेरीपछि चितवन जिल्ला अदालतमा कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलेको थियो।

खामबाहेक गोविन्दबहादुर बटाला, केशव अधिकारी, गंगाराम थापा र अर्जुन कार्की पनि घटनामा संलग्न रहेको दाबीसहित मुद्दा दर्ता भएको थियो। सो मुद्दामा २०६८ जेठ १७ गते फैसला हुँदा बटालालाई तीन वर्ष कैद सजाय सुनाइएको थियो। मुद्दा चलेदेखि नै खाम फरार रहेको भन्दै अदालतले मुद्दा मुल्तबीमा राखेको थियो।