किन हारे ओलीले विश्वास गरेका एमाले पदाधिकारी?

एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने प्रमुख पदाधिकारीहरूले भोगेको पराजयलाई एमाले वृत्तमा सहज रूपमा लिइएको छैन।

काठमाडौँ– केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री थिए। प्रदेश मुकाम बुटवलमा रहेकाले उनको सबैजसो समय बुटवलमै बित्नुपर्ने हो। तर, उनको बुटवलमा जत्तिकै व्यस्तता काठमाडौंमा हुन्थ्यो। बुटवल मुकाम भएका मुख्यमन्त्रीको काठमाडौं आउजाउ बाक्लो थियो। एमाले र माओवादीबीचको एकीकरणबाट गठन भएको तत्कालीन नेकपामा संकट आउँदा त्यसलाई मिलाउन पहल गर्ने प्रमुख पात्र पोखरेल नै थिए। नेकपाका तत्कालीन अध्यक्ष एवं प्रधानमन्त्री ओलीका तर्फबाट पोखरेल नै सबैतिर अग्रसर भइरहन्थे। एमालेका एक पोलिटब्युरो सदस्यका भनाइमा ओलीलाई अप्ठेरो पर्दा सल्लाह दिने र ओलीका तर्फबाट हुने वार्ताहरूको नेतृत्व पोखरेलले नै गर्थे।

पोखरेल खासमा एमाले अध्यक्ष ओलीका मात्र विश्वासपात्र थिएनन्, राष्ट्रपति विद्यादेवी भण्डारीका निकै कम विश्वासपात्रमा पर्थे। त्यही कारण एमालेको दसौँ महाधिवेशनबाट विष्णु पौडेल, सुरेन्द्र पाण्डे लगायतका नेताहरूलाई पन्छाएर महासचिव बने। महासचिव पोखरेल यसपालिको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र नम्बर ३ बाट पराजित भएका छन्। उनलाई नेकपा माओवादी केन्द्रकी रेखा शर्माले पराजित गरेकी हुन्।

पोखरेलको यो पराजय चुनावी जित–हारका हिसाबले स्वाभाविक प्रक्रिया भए पनि एमाले पंक्तिले त्यसलाई स्वाभाविक रूपमा लिएको देखिँदैन। एमालेले सजिलै जित्ने सूचीमा राखेका पोखरेल कसरी पराजित भए भन्नेबारे एमाले पंक्तिमा विभिन्न कोणबाट बहस भइरहेको छ।

दाङका पुराना पत्रकार सुशील गौतम पोखरेलले पराजय बेहोर्नुको प्रमुख कारण एमाले कार्यकर्तामा रहेको ‘ओभर कन्फिडेन्स’ भएको बताउँछन्। “एमाले कार्यकर्तामा आत्मविश्वास बढी देखियो। त्यही कारण कार्यकर्ता पंक्ति तल्लो तहसम्म जसरी  परिचालित हुनुपर्ने हो, त्यसरी भएनन्”, गौतम भन्छन्, “पार्टीको महासचिव, मुख्यमन्त्री हुँदा प्रदेश राजधानी दाङमा ल्याउन भूमिका खेलेको कारण जनताले भोट दिइहाल्छन् भन्नेमा एमाले कार्यकर्ता ढुक्क भएर बसे।”

एमाले कार्यकर्ताहरूको यो आत्मविश्वासको एउटा कारण पोखरेलको प्रतिस्पर्धामा नेपाली कांग्रेसका उम्मेदवार नहुनु पनि थियो। सत्ता गठबन्धनमा भएको भागबन्डामा यो क्षेत्र नेकपा माओवादी केन्द्रको भागमा परेको थियो। माओवादीबाट पहिले कृष्णबहादुर महराको चर्चा चले पनि पछि महराले चुनाव नलड्ने निर्णय गरेपछि रेखा शर्मालाई अघि सारिएको थियो। एमाले कार्यकर्ताहरू शर्मालाई कम आँकिरहेका थिए।

गौतमका अनुसार दाङ जिल्ला द्वन्द्वबाट बढी प्रभावित भएको र माओवादीका कारण कांग्रेसका धेरै समर्थक विस्थापित पनि भएकाले पोखरेललाई कांग्रेसको भोट आउने आशामा एमाले कार्यकर्ताहरू थिए। तर, यसपटक कांग्रेसको अधिकांश भोट माओवादीका उम्मेदवारलाई ट्रान्सफर भयो। “स्थानीय तह निर्वाचनमा गठबन्धन भए पनि कांग्रेसको भोट माओवादीमा गएन। तर, यसपटक गठबन्धन बलियो भयो”, गौतम भन्छन्, “एमालेको प्रभाव राम्रो भएका ठाउँबाट पनि पोखरेलले भोट पाउन सकेनन्। त्यो भोट घण्टीमा गयो।”

दाङ–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका विशाल अधिकारीले ल्याएको १५ हजार ८५८ मतले पनि त्यही देखाउँछ। एमालेमा वैचारिक नेताको छवि बनाएका र आर्थिक रूपमा समेत विवादमा नमुछिएका पोखरेल कार्यकर्ता पंक्ति र मतदातामा घुलमिल हुन नसक्ने अन्तरमुखी स्वभावका कारण पनि पराजित भएको गौतमको बुझाई छ। 

महेन्द्र बहुमुखी क्याम्पस दाङका उप–प्राध्यापक सुदर्शन रिजाल पोखरेलको पराजयलाई राजधानी र विकासको मुद्दाले मतदातालाई छुन नसक्दो रहेछ भन्ने उदाहरणका रूपमा हेर्नुपर्ने बताउँछन्। “गठबन्धन पनि एकदमै कसिलो भयो, विकास र राजधानीको मुद्दाले जनतालाई छुन सकेन,” रिजाल भन्छन्।

रिजालका भनाईमा मौन अवधि शुरू हुनुभन्दा केही दिन अघि एमाले उपाध्यक्ष विष्णु पौडेलले राजधानीका विषयमा बुटवलमा दिएको अभिव्यक्ति पनि पोखरेलको हारको अर्को कारण हो। एमाले उपाध्यक्ष पौडेलले एक टेलिभिजनको बहस कार्यक्रममा प्रदेश राजधानी दाङबाट फिर्ता ल्याइने अभिव्यक्ति दिएका थिए। “बुझ्नेहरूलाई त त्यो ठूलो विषय थिएन, किनभने पौडेलले असम्भव र संविधानमा नभएको विषय बोलिरहेका थिए”, रिजाल भन्छन्, “विपक्षीलाई चुनावको मसला बन्यो। जसले आम मतदातालाई भ्रममा पार्न सहयोग पुग्यो।”

एमाले दाङका एक नेता अहिले पनि एमाले अध्यक्ष ओलीलाई मन नपाउने समूह एमालेमा रहेको र त्यो समूहको मत पनि पोखरेलले पाउन नसकेको बताउँछन्।  “शंकरलाई जसरी पनि हराउने भनेर एउटा शक्ति नै लाग्यो”, आफ्नो नाम उल्लेख गर्न नचाहने ती नेताले भने।

पोखरेल मात्र होइन, जस्तोसुकै अवस्थामा पनि ओलीलाई साथ दिँदै आएका एमाले उपमहासचिव प्रदीप ज्ञवाली पनि गुल्मी क्षेत्र नम्बर १ बाट पराजित भएका छन्। शुक्रबार सकिएको गुल्मीको मतगणनाअनुसार ज्ञवाली नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीसँग पराजित भएका हुन्। उनको पराजयले पनि एमालेमा अध्यक्ष ओली र उनको ‘कोर’ समूहलाई गम्भीर बनाएको एमाले नेताहरू बताउँछन्।

ज्ञवाली एमालेभित्र मात्र होइन, बाहिर पनि रुचाइएका नेतामा पर्छन्। जस्तासुकै कठोर कुरा पनि शालीन रूपले राख्न सक्ने खुबी, नम्र व्यवहार र अध्ययनशील नेताका रूपमा चिनिने ज्ञवाली जस्तोसुकै असहज अवस्थामा पनि ओलीको प्रतिरक्षामा उभिँदै आएका नेता हुन्। 

एमाले गुल्मीका नेता कमल श्रेष्ठ प्रदीप ज्ञवालीको पराजयबारे गम्भीर समीक्षा हुनुपर्ने बताउँछन्। उनको भनाइमा एमालेले स्थानीय निर्वाचनमा राम्रो मत प्राप्त गरेका छत्रकोट र सत्यदेवी गाउँपालिकाबाटै ज्ञवालीलाई मत आएन। “जहाँ हामी बलियो थियौँ र हामीले धेरै मतका साथ अग्रता कायम गर्छौ भन्ने थियो, त्यहीँ राम्रो मत पाएनौँ। यो विषय गम्भीर हो”, उनी भन्छन्, “यहाँ गठबन्धन सशक्त र बलियो थियो। त्यो पनि हारको कारण रह्यो।”

एमालेको लुम्बिनी प्रदेश कमिटीमा गुल्मीबाट प्रतिनिधित्व गर्ने एक नेता स्थानीय तहमा एमालेभित्र रहेको अन्तर्विरोध हल गर्न नसक्नु पनि पराजयको एउटा कारण हो। छत्रकोट र सत्यवतीबाट कम भोट आउनुमा त्यहाँको अन्तर्विरोध कारक रहेको उनको भनाई छ। “जिल्ला अध्यक्ष बालसिंह काउछाले स्थानीय स्तरको विवाद समाधानमा जुन हिसाबले भूमिका खेल्न सक्नुपर्थ्यो, त्यो गर्न सक्नुभएन। त्यसको असर अहिलेको पराजय हो,” उनी भन्छन्।

ज्ञवालीले जिल्लाको विकासमा महत्त्वपूर्ण भूमिका खेलेको भए पनि त्यसको प्रभाव मतदातामा नदेखिएको उनको भनाई छ। त्यसबाहेक प्रदेशसभामा चिन्तामणि पाण्डे र फर्सुराम पाण्डेलाई टिकट दिलाउनु पनि उनको पराजयको कारण भएको गुल्मीका एकथरि एमाले कार्यकर्ताको विश्लेषण छ। चिन्तामणि बुटवलमा बसेर जग्गा कारोबारमा संलग्न व्यवसायी हुन् भने फर्सुराम काठमाडौँमा बसेर व्यापार व्यवसायमा संलग्न छन्। निर्वाचनमा हुने खर्च जोहो गर्न ज्ञवालीले पाण्डेद्वयलाई टिकट दिलाएको आरोप गुल्मीकै एकथरि एमाले कार्यकर्ताले लगाउँदै आएका छन्।

एमालेमा प्रष्ट वक्ता, तोकिएको जिम्मेवारी पूरा गर्ने र पार्टीको जिम्मेवारीमा निरन्तर खट्ने नेताका रूपमा चिनिन्छन्, ईश्वर पोखरेल। एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा झलनाथ खनाल समूहबाट महासचिव जितेका पोखरेल त्यसपछि भने कित्ता परिवर्तन गरेर ओली समूहमा लागे। ओली प्रधानमन्त्री हुँदा उपप्रधानमन्त्री तथा रक्षामन्त्री बनेका पोखरेल एमालेका वरिष्ठ उपाध्यक्ष हुन्।

पार्टीमा ओलीपछिको वरीयतामा रहेका पोखरेल पनि काठमाडौं क्षेत्र नम्बर ५ बाट पराजित भएका छन्। उनलाई तनहुँबाट यसपालि काठमाडौंको क्षेत्रमा आइपुगेका नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पाँच हजारको मतान्तरले पराजित गरेका हुन्। आफू पराजित भएपछि पोखरेलले आफ्नो फेसबुक पेजमा मंसिर ७ गते साँझ मतदातालाई आभार तथा बधाईसहितको स्ट्याटस पोस्ट गरे। तर, उनको पोस्टमा कमेन्ट गर्ने एमाले कार्यकर्ताको टिप्पणी छ– “रुखो बोली र व्यवहारले गर्दा मैले तपाईंलाई मैले भोट दिइनँ।”

पोखरेलको पोस्टमा कमेन्ट गर्नेमध्येका एक भेषराज आचार्यले पोखरेललाई ‘कमरेड’ सम्बोधन गर्दै पदमा रहँदा पनि, नरहँदा पनि कार्यकर्तालाई रुखो व्यवहार गर्ने गरेका गुनासो उनको क्षेत्रमा जाँदा सुनेको उल्लेख गर्दै सरल बन्न सुझाव दिएका छन्।

आचार्य राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रमका बोर्ड सदस्य हुन्। एमाले कार्यकर्ता आचा/यलाई ओली सरकारले नै बोर्ड सदस्य नियुक्त गरेको थियो।

त्यसैगरी एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे चितवन क्षेत्र नम्बर १ बाट पराजित भएका छन्। २०७४ मा सोही क्षेत्रबाट फराकिलो मतान्तरले जितेका पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालसँग पराजित भएका हुन्। पाण्डेको पराजयमा देशभर चलेको ‘घण्टी’ को लहरले काम गरेको एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपाने बताउँछन्।

अर्थमन्त्री बनेर राम्रो छाप छाडेका पाण्डे कुनै बेला एमालेमा अध्यक्ष ओलीका चर्को आलोचक थिए। तत्कालीन एमालेभित्रको समीकरणमा माधवकुमार नेपाल समूहमा रहेका पाण्डेले पार्टी विभाजनका बेला भने नेपालको साटो ओलीलाई साथ दिएका थिए। त्यसपछि ओलीका विश्वासपात्र बने। यहीकारण उनी दसौँ महाधिवेशनबाट एमालेको उपाध्यक्ष बने, यसपालि पनि विना व्यवधान प्रतिनिधिसभा निर्वाचन लड्न टिकट पाए। कतिपयले पाण्डेको हारमा एमालेभित्रको हिजोको कचलोको असरले पनि काम गरेको बताउने गरेका छन्।

यसपालि हार ब्यहोर्ने एमालेका अर्का पदाधिकारी हुन् लेखराज भट्ट। एमाले सचिव भट्ट कैलाली क्षेत्र नम्बर ४ बाट नेपाली कांग्रेसका उम्मेदवार बीरबहादुर बलायरसँग पराजित भएका हुन्। तत्कालीन एमाले र माओवादीबीच एकतापछि बनेको नेकपा सर्वोच्च अदालतको फैसलाले पुरानै अवस्थामा फर्किएपछि भट्टले एमाले रोजेका थिए। पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई छाडेर ओलीलाई साथ दिएपछि भट्ट ओलीको विश्वासपात्र बनेका थिए। कतिसम्म भने उनलाई अघि बढाउन ओली सुदूरपश्चिममा भीम रावललाई पूरै पाखा लगाउन पनि पछि परेनन्।

एमालेका पदाधिकारीमध्ये सचिव रघुवीर महासेठ जारी मतगणनामा पछाडि छन्। अर्का सचिव पद्मा अर्याल उम्मेदवार रहेको स्याङ्जा–२ मा मतगणना हुन सकेको छैन। उपाध्यक्ष सुवास नेम्वाङ र सचिव छबिलाल विश्वकर्माले अग्रता लिइरहे पनि नतिजा आएको छैन। उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराईले भने जित हात पारेका छन्।

एमालेनिकट बुद्धिजीवी, विश्लेषक झलक सुवेदी भने एमालेका केही शीर्ष तहका नेताहरू पराजित भए पनि विभिन्न प्रतिकूलताका बाबजुद एमालेले यो निर्वाचनमा उल्लेख्य सफलता प्राप्त गरेको बताउँछन्। “पाँचदलीय गठबन्धनका बाबजुद एमालेले प्राप्त गरेको नतिजा राम्रो छ”, सुवेदी भन्छन्, “नतिजाले एमालेको जनाधार खस्केको भन्न मिल्दैन ।”

शीर्ष नेताहरूको पराजयलाई निर्वाचनमा सामान्य रूपमा लिनुपर्ने उनको भनाई छ। “चुनाव हो, कहिलेकाहीँ यस्तो हुन पुग्छ, यो ठूलो विषय होइन” सुवेदी भन्छन्।