सडक सञ्जालमा जोडियो म्याग्दीको विकट ‘खिवाङगाउँ’

सडक निर्माण भएपछि खिवाङका १८० घरपरिवार लाभान्वित भएका छन्। सो सडकमा मोटरसाइकल, जिप र ट्याक्टर चल्न थालेका छन्।

म्याग्दी– म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ। 

वडाध्यक्ष याम घर्तीमगरले लामो छहरा केंङ्‌कीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको बताए। “खाम्ला–केङ्‌की–नाउरा हुँदै बगर जोड्ने मूल सडक निर्माण भइरहेको छ,” उनले भने, “केङ्‌कीबाट खिवाङ जोड्ने शाखा सडक निर्माण हालै पूरा भएको हो।”

सडक निर्माण भएपछि खिवाङका १८० घरपरिवार लाभान्वित भएका छन्। सो सडकमा मोटरसाइकल, जिप र ट्याक्टर चल्न थालेका छन्।

सडक निर्माणमा धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले सहयोग गरेको हो। गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङ गाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरिएको बताए। गाउँपालिकाको सक्रियतामा खाम्ला हुँदै खिवाङ जोड्ने सडक निर्माणाधीन छ। 

नाउरा हुँदै बगरगाउँ जोड्ने सडकको ट्र्याक खोल्ने काम पनि अन्तिम चरणमा पुगेको उनको भनाइ छ।