आयरल्यान्ड ‘ए’विरुद्ध नेपाल ‘ए’को कमजोर प्रदर्शन, २१ रनले पराजित

१५८ रनको सामान्य लक्ष्य पनि नेपालले पूरा गर्न सकेन। नेपाल ‘ए’को टोली २५.३ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो। 

काठमाडौँ– आयरल्यान्ड ‘ए’विरुद्ध बुधबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल ‘ए’ले कमजोर प्रदर्शन गरेको छ। पहिले बलिङ गर्दै आयरल्यान्ड ‘ए’लाई सस्तैमा समेटेको नेपाल ‘ए’को ब्याटिङ नचल्दा सामान्य लक्ष्य पनि पूरा गर्न सकेन।

अनुभवी ब्याटर नचल्दा आयरल्यान्ड ‘ए’ले दिएको १५८ रनको सामान्य लक्ष्य पनि नेपाल ‘ए’ले पूरा गर्न सकेन। नेपाल ‘ए’को टोली २५.३ ओभरमा अलआउट हुँदै १३६ रनमा समेटियो। 

नेपाल ‘ए’का लागि साहब आलमले ३४ बलमा एक छक्का र चार चौकाको सहयोगमा ३७ रनको योगदान दिए। साथै देव खनालले २६, बसिर अहमदले २० र रिजन ढकालले १२ रन बनाए। नेपाल ‘ए’का लागि अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

आयरल्यान्ड ‘ए’को जितमा म्याथ्यु हम्फ्रिजले पाँच र लियाम मकार्थीले चार विकेट लिए। जितसँगै तीन खेलको शृंखलामा आयरल्यान्ड ‘ए’ले अग्रता लिएको छ। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ३८.३ ओभरमा अलआउट हुँदा १५७ रन मात्रै बनाउन सक्यो। शुरूआतदेखि दबाब महसुस गरेको आयरल्यान्ड ‘ए’ले मध्यमक्रममा सम्हालिने प्रयास गरे पनि अन्तिममा लय गुमायो। उसले पछिल्लो पाँच ओभरमा छ विकेट गुमाउँदै जम्मा १४ रन मात्रै बनाउन सक्यो। 

आयरल्यान्ड ‘ए’का लागि केड कार्माइकलले अर्धशतकीय पारी खेले। उनले ७७ बलमा चार चौकाको सहयोगमा ५१ रन बनाए। कप्तान निल रकले ३२ बल खेल्ने क्रममा तीन छक्का र दुई चौकको सहयोगमा ३९ रन बनाए। त्यसबाहेक पिटर मुरले २१ रन बनाउँदा ओपनरद्वर जेम्स मकलम र स्टेफल डोहनीले समान १२/१२ रनको योगदान दिए। अन्य ब्याटरले भने उल्लेख रन बनाउन सकेनन्।

नेपाल ‘ए’का लागि कमल ऐरीले ह्याट्रिकसहित चार विकेट लिए भने साहब आलम र मौसम ढकालले दुई/दुई विकेट लिए। साथै रिजन ढकालले एक विकेट लिए।