वैवाहिक बलात्कारको आरोप लागेका न्यायाधीशलाई थुनामा पठाउन सर्वोच्चको आदेश

न्यायाधीशहरू हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको हो।

काठमाडौँ– वैवाहिक बलात्कारको आरोप लागेका कपिलवस्तु जिल्ला अदालतका न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन सर्वोच्च अदालतले आदेश दिएको छ।

न्यायाधीशहरू हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको हो।

“प्रस्तुत मुद्दामा पछि फैसला हुँदाका बखत ठहरे बमोजिम हुने गरी निज प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ६७(१)(ख) बमोजिम मुद्दाको पुर्पक्षको लागि थुनामा राखी कानून बमोजिम गर्नू,” बुधबारको आदेशमा भनिएको छ।

यसअघि काठमाडौँ जिल्ला अदालतले २०८० बैशाख १९ मा मुद्दाको पुर्पक्षका लागि धरौटी तारेखमा छोड्न आदेश दिएको थियो। उच्च अदालत पाटनले पनि २०८० भदौ २१ मा जिल्लाकै आदेश सदर गरेको थियो। तर, बुधबार सर्वोच्चको सुनुवाइपछि ती आदेश बदर गर्दै थुनामा पठाउन आदेश गरेको हो। परिवर्तित नाम २६ परिसर (२६) २०७९/०८० ले वेरितको आदेश बदरको माग राखेर सर्वोच्चमा पुनरावेदन दिएकी थिइन्।

कपिलवस्तु जिल्ला अदालतमा कार्यरत रहेको अवस्थामा आफूमाथि बलात्कार भएको भन्दै गिरीविरुद्ध उनकी पत्नी आरती राउत गिरीले जाहेरी दिएकी थिइन्। त्यसपछि प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।

कपिलवस्तु जिल्ला अदालतमासमेत चलेको मुद्दामा गिरीलाई धेरौटीमा छोड्ने आदेश भएको थियो। काठमाडौँको सामाखुशीस्थित डेरामा पनि आफूमाथि बलात्कार भएको भन्दै उनले उजुरी दिएकी थिइन्। उक्त मुद्दा काठमाडौँ जिल्ला अदालतमा दर्ता भएको थियो।

न्यायको माग गर्दै आरती माइतीघरमा मण्डलमा पटकपटक अनशन बस्दै आएकी थिइन्।