डेंगी हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्छन्
काठमाडौँ– गर्मीयाम शुरू भएसँगै डेंगीको जोखिम पनि बढ्न थालेको छ। गर्मी बढेसँगै मानिसले पानी संकलन गरेर राख्ने र संकलन गरिएको पानीमा लामखुट्टेले डेंगीको संक्रमण गराउने भएकाले जोखिम बढ्दै गएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले गर्मीसँगै पानी पनि पर्न शुरू हुने भएकाले डेंगीको जोखिम बढ्ने बताए। डेंगीको संक्रमणबाट बच्न सचेतना अपनाउनुपर्नेमा उनले जोड दिए।
“गर्मीसँगै पानी संकलन गरेर राख्ने गरिन्छ। यसरी संकलन गरिएको पानीमा लामखुट्टेले फुल पार्दछ। सफा पानीमा त्यही लार्भा बन्ने र मानिसलाई टोक्ने गर्दछ,” डा दाहालले भने। उनले जोखिम हुने ठाउँको पहिचान गरेर लामखुट्टे मार्न अभियान सञ्चालनका लागि स्थानीय तहलाई निर्देशन दिइसकिएको पनि बताए।
“माघयता डेंगी देखिएका ३३ स्थानीय तहलाई पत्राचार गरेर लामखुट्टे खोज र नष्ट अभियान सञ्चालन गर्न निर्देशन दिएका छौँ,” डा दाहालले भने, “अन्य स्थानीय तहलाई पनि डेंगीबारे सचेतना जगाउन आग्रह गरेका छौँ।”
उनका अनुसार डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएपछि टोकेमा डेंगी लाग्दछ।
डेंगी हुँदा उच्च ज्वरो आउने, टाउको, आँखाको गेडी, ढाड, शरीर, घुँडाका जोर्नी दुख्ने, पिँडौलाको मासु दुख्नेलगायत लक्षण देखा पर्ने भन्दै डा दाहालले लक्षण देखा परेमा तत्काल चिकित्सकको सल्लाह लिन आग्रह गरे। लामखुट्टेबाट बच्नका लागि सधैँ झुल टाँगेर मात्र सुत्ने, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न उनले अनुरोध गरे।
“सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने, घरपालुवा पशुपक्षी व्यवस्थित ढंगले पाल्ने र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न दिनुहुँदैन,” डा दाहालले भने।
उनका अनुसार सन् २०२३ मा करिब ५१ हजार १४३ र सन् २०२२ मा ५४ हजार ६३० जनामा डेंगी देखिएको थियो। नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। सन् २००५ मा भने डेंगीका बिरामी देखिएनन्। त्यसपछि सन् २००६ देखि डेंगीको संक्रमण देखिँदै आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
