एसएमएस फ्रेन्ड्सिप कपमा नेपालको लगातार तेस्रो जित, गुजरात ८ रनले पराजित

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो।

काठमाडाैँ– भारतमा चलिरहेको एसएमएस फ्रेन्डसिप कप टी–२० क्रिकेट शृंखलामा नेपालले लगातार तेस्रो जित हात पारेको छ। 

आफ्नो पहिलो खेलमा गुजरात र दोस्रो खेलमा बरोडालाई पराजित गरेको नेपालले तेस्रो खेलमा पनि गुजरातलाई नै पराजित गरेको हो। बुधबार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हरायो। 

नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १७३ रन मात्र बनाउन सक्यो। नेपाली बलर सोमपाल कामी र कुशल मल्लले दुईरदुई तथा गुलसन झा र विवेक यादवले एक/एक विकेट हात पारे। गुजरातका लागि उमंग तन्डेलले सर्वाधिक ४७ रन बनाए। हर्ष देसाईले २९ रनको योगदान गरे।

यसअघि गुजरातको वापीमा रहेको साई मेघपन मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रन बनायो। नेपालका आसिफ शेखले ५१ बल खेल्ने क्रममा पाँच छक्का र १० चौका प्रहार गर्दै ८५ रन बनाए। कुशल भुर्तेलले दुई छक्का र नौ चौकाको सहयोगमा ६७ रन बनाए। 

तर अन्य ब्याटरले भने उल्लेख्य योगदान दिन सकेनन्। कप्तान रोहित पौडेलले तीन रन बनाए भने सन्दीप जोराले दुई मात्रै बनाए। कुशल मल्लले एक, गुलशन झाले चार रन बनाए। अनिल साह शून्यमा आउट भए भने विवेक यादव सात रन र प्रतीस जिसी चार रनमा अविजित रहे।

बलिङतर्फ गुजरातका लागि जयमित पटेलले तीन विकेट लिए भने आर्या देसाई र ध्रुशान्त सोनीले दुई/दुई विकेट लिए।

आउँदो शुक्रबार नेपाल र बरोडाबीच खेल हुनेछ। हिजो भएको खेलमा नेपालले बरोडालाई २७ रनले हराएको थियो। यसअघि नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो।