धमाधम कालोपत्र हुँदै धनगढी–दिपायल द्रुतमार्ग

धनगढी–स्याउले सडकखण्डको १३.४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो।

गोदावरी– धनगढी–खुटिया–बिपीनगर–दिपायल द्रुतमार्ग कालोपत्र गर्न थालिएको छ। सो सडकअन्तर्गत धनगढी–स्याउलेखण्डमा कालोपत्र गर्न थालिएको हो। 

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा संघीय सरकारले २५ करोड बजेट विनियोजन गरेपछि कालोपत्रको प्रारम्भ गरिएको सडक आयोजना कार्यालयका इन्जिनियर दिनेश रैखोलाले बताए। उक्त सडकखण्ड एक महिनाभित्रै कालोपत्र सम्पन्न हुने गरी धमाधम काम भइरहेको छ।

धनगढी–स्याउले सडकखण्डको १३.४ र दिपायलको तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्रका लागि २०७८ साल वैशाखमा सम्झौता भएको थियो। हाल डोटीको दिपायल तिखा–मेल्लेख सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र भइरहेको छ। आयोजनाअन्तर्गत कैलालीमा ८० प्रतिशत र डोटीमा ६५ प्रतिशत कालोपत्रको काम पूरा भएको छ।  

धनगढी–स्याउले सडक खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभीसँग २०७८ मा पिपलचौतारादेखि स्याउले महेन्द्र राजमार्गभन्दा तीन किलोमिटर अगाडि १३.४ किलोमिटरमा कालोपत्र गर्न भ्याटबाहेक १६ करोड ४० लाख रुपैयाँमा सम्झौता भएको इन्जिनियर रैखोलाले बताए।