मकैमा फौजी कीरा लागेपछि समस्यामा तनहुँका किसान

आँबुखैरेनी गाउँपालिका–२ ढापटारको करिब ४५ रोपनी क्षेत्रफलमा लगाइएको मकैबालीमा फौजी कीराको समस्या देखिएको छ। 

दमौली– आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा मकैमा फौजी कीरा फैलिएको छ। ढापटारका किसानले लगाएको मकैमा फौजी कीराको समस्या भएको हो। 

फौजी कीराले मकैमा क्षति भएको स्थानीय किसान लक्ष्मण थापा क्षेत्रीले बताए। फौजी कीराले मकैका पात, गुभोमा क्षति पुगेको छ। “यस क्षेत्रको करिब ४५ रोपनी क्षेत्रफलमा फौजी कीराको समस्या देखिएको छ,” उनले भने।

विषादी छरेर फौजी किरा नियन्त्रणको प्रयास गरिएको आँबुखैरेनी गाउँपालिकाले जनाएको छ। कृषि शाखा प्रमुख सन्तोष केसीले भने, “गाउँपालिका–२ ढापटारमा धेरै समस्या देखियो, हामीले कीटनाशक औषधि छरेर  किसानलाई यसबारेमा सचेत पारेका छौँ।”

विषादी प्रयोगबारे जानकार किसानले रोग नियन्त्रणको प्रयास गरिरहेका छन्। रोग नियन्त्रणका लागि जैविक विषादी झोल (निम, खुर्सानी, तीतेपाती, लसुन, असुरो) प्रयोग गर्न सकिने केसीले बताए।

मसिनो माटो, बालुवा, काठको धुलो, खरानी हालेर पनि कीरा नियन्त्रण गर्न सकिने उनको भनाइ छ।