म्याग्दीको काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ढुंगाको पहिरो खस्ने र कालीगण्डकीको कटानको समस्या छ।
म्याग्दी– कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम सडकमा यात्रा गर्ने धेरैजसो यात्रु काभ्रेभिरमा पुगेपछि डराउँछन्।
म्याग्दी र मुस्ताङको सिमानामा रहेको करिब दुई किलोमिटर दूरीको काभ्रेभिर, बादरजुङभिर र घोप्टेभिर क्षेत्र बेनी–जोमसोम–कोरला सडकको सबैभन्दा जोखिमयुक्त मानिन्छ।
म्याग्दीको काभ्रेभिरदेखि मुस्ताङको घाँसासम्म अक्करे पहाड छिचोलेर मार्ग खोलिएको सडकमा ढुंगाको पहिरो खस्ने र कालीगण्डकीको कटानको समस्या छ।
सडकमुनिको पहाडको फेदीमा बग्ने कालीगण्डकीले बनाएको अन्धगल्छी संसारकै गहिरो खोच हो। यस स्थानमा धेरै पटक सवारीसाधन खस्ने, गुडिरहेको सवारीसाधनमा भिरबाट ढुंगा, पहिरो खसेर जनधनको क्षति हुने गरेको छ।
साँघुरो अवस्थामा रहेको काभ्रेभिरको सडकलाई फराकिलो र स्तरोन्नति गरेर सुरक्षित बनाउन ‘रक एङ्करिङ/रक नेलिङ’ प्रविधिको प्रयोग गरिएको सडक योजनाका इन्जिनियर विष्णु चापागाईंले बताए। “तल बग्ने कालीगण्डकीले बनाएको खोँच र बिस्फोटक पदार्थको प्रयोग गरी भित्ता काटेर सडक फराकिलो बनाउँदा पहाड थर्किएर कमजोर हुने र थप पहिरो खस्ने जोखिम देखिएपछि रक एङ्करिङ गर्न थालेका हौँ,” उनले भने, “सडकमुनिको पहाडमा ड्रिलिङ गरेर रड राखी, कङ्क्रिट गरेर पक्की पर्खाल निर्माण गरी डिलतर्फ सडक फराकिलो बनाउने योजना छ।”
मजदुरहरूले डोरीमा झुन्डिएर ड्रिलिङ गरेर पहाडमा पर्खालको बेस बनाएका छन्। १०० मिटर लम्बाइको दूरीमा ड्रिलिङ गरेर फलामको रड राख्ने प्वाल बनाइएको छ। थप ५० मिटरमा ड्रिलिङ गर्न बाँकी छ। रक एङ्करिङ गर्नुपर्ने ठाउँको ३.५ मिटर फराकिलो सडकमा हाल एकतर्फी सवारीसाधन चल्ने गरेका छन्। यसलाई दुईतर्फी बनाउन सातदेखि आठ मिटर फराकिलो बनाउन लागिएको हो।
नाली, खोल्सा र सडकको पानी व्यवस्थापन गर्न ह्युमपाइपबाट बगाउने गरी नक्सांकन गरिएको छ। यो क्षेत्रमा विस्फोट पदार्थको प्रयोग गरी एक हजार ६०० मिटर सडकलाई आठ मिटर फराकिलो बनाएर ढलान गरिएको छ। धेरै ‘रक फल’ हुने भएकाले डीबीएसडी प्रविधिको कालोपत्र सडक नटिक्ने देखिएपछि ढलान गरिएको हो। ढलान गरिएको ठाउँमा पनि भिरबाट खसेका ठूला ढुंगाले क्षति पुर्याएको छ। डिलतर्फ सुरक्षाका लागि छेकबार लगाउने योजना छ।
सम्झौताअनुसार ढलानको काम सकिएको निर्माण कम्पनी शर्मा–गजुरमुखीले जनाएको छ। डिजाइनका क्रममा पहिरो सडक विस्तारपछि उत्पन्न हुने पहिरो नियन्त्रणको काम समावेश नभएकाले अध्ययन र थप बजेटको माग गरिएको बेनी–जोमसोम–कोरला सडक योजनाका प्रमुख ध्रुव झाले बताए। “सडक निर्माणपछि सिर्जना भएका नयाँ पहिरोको विस्तृत सर्वेक्षण गर्न ८० लाख बजेट विनियोजन गरिदिन संघीय सरकारसँग प्रस्ताव गरिएको छ,” उनले भने। आयोजनाले पहिरोग्रस्त काभ्रे–घाँसा खण्डमा सडकको विकल्पमा सुरुङ मार्ग बनाउन सडक विभागलाई प्रस्ताव गरेको थियो।
गण्डकी प्रदेश सरकारको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममै घोषणा गरेको काभ्रे–घाँसालगायत पाँच वटा सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि विनियोजन गरेको ४० लाख रुपैयाँ बजेट पनि कार्यान्वयन भएको छैन। यसअघि २०७७ सालकोमा खहरेखोला र रुप्सेखोलामा आएको बाढीले निर्माणाधीन पुलको संरचनामा क्षति पुर्याएको थियो। उक्त पुलको ठेक्का तोडिएको छ। रुप्सेमा बेलिब्रिज निर्माण गरेर यातायात सञ्चालन भएको छ।
सो ठाउँमा थप कटान हुन नदिन र सडक सुरक्षाका लागि पर्खाल बनाउन २०० मिटर क्षेत्रमा कालीगण्डकीलाई डाइभर्सन गरिएको आयोजनाले जनाएको छ। काभ्रे–घाँसा खण्डको बाजुजुङ/घाँसा बगर क्षेत्रमा कालीगण्डकी नदीले सडकमुनिको करिब १०० मिटर टेवा पर्खाल भत्काएपछि आठ मिटर फराकिलो सडकलाई तीन मिटर साँघुरो बनाएको छ।
२०७४ सालमा शर्मा–गजुरमुखी जेभीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको तातोपानीदेखि मुस्ताङको थासाङ गाउँपालिकाको कैकुखोला खण्डको १७ किलोमिटर सडक कालोपत्रसहित स्तरोन्नति गर्न ठेक्का सम्झौता गरेको थियो।
२०७६ चैतमा कोरोना महामारी फैलिएपछि सुस्ताएको यस खण्डमा २०७७ असार र साउन महिनाको पहिरोको तथा कालीगण्डकी नदीको कटानका कारण क्षति पुगेपछि निर्माण कार्य प्रभावित बनेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
