विदेशी मुद्रा सञ्चिति २१.७ प्रतिशतले बढ्यो, १४.८ महिनाको वस्तु आयात धान्ने

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा सञ्जित मुद्रा २२.२ प्रतिशतले वृद्धि भई १६४४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको आठ महिनामा विदेशी मुद्रा सञ्चिति २१.७ प्रतिशतले बढेको छ। नेपाल राष्ट्र बैंकले सञ्जित विदेशी मुद्राले १४.८ महिनाको वस्तु आयात गर्न पुग्ने जनाएको छ। 

राष्ट्र बैंकले बिहीबार जारी गरेको पछिल्लो आठ महिनाको तथ्यांकमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा फागुनसम्ममा १८७२ अर्ब ८२ करोड पुगेको उल्लेख छ। असारमा १५३९ अर्ब ३६ करोड रुपैयाँ बराबर विदेशी विनियमय सञ्चिति रहेको थियो।

अमेरिकी डलरमा विदेशी मुद्रा सञ्चिति असारमा ११ अर्ब ७१ करोड रहेकोमा फागुनमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा सञ्जित मुद्रा २२.२ प्रतिशतले वृद्धि भई १६४४ अर्ब ६ करोड रुपैयाँ पुगेको छ। यस्तो सञ्चिति असारमा १३४५ अर्ब ७८ करोड रहेको थियो।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक)सँग रहेको विदेशी विनिमय सञ्चिति असारमा १९३ अर्ब ५९ करोड रुपैयाँ रहेकोमा फागुनसम्ममा १८.२ प्रतिशतले वृद्धि भई २२८ अर्ब ७६ करोड रुपैयाँ कायम भएको छ। यसमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ।

राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को आठ महिनाको आयातलाई आधार मान्दा बैकिंग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १४.८ महिनाको वस्तु आयात गर्ने जनाएको छ। त्यस्तै, १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको प्रतिवेदनमा उल्लेख छ।

फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपात क्रमशः ३४.८ प्रतिशत, १०३.१ प्रतिशत र २८.२ प्रतिशत रहेको छ। असारमा यो अनुपात क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.० प्रतिशत रहेको थियो।

त्यस्तै, आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड बराबरको विप्रेषण आप्रवाह भएको छ। विप्रेषण आप्रवाह २१ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले बढेको थियो।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या दुई लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको संख्या एक लाख ८४ हजार २७८ रहेको छ।

समीक्षा अवधिमा खुद ट्रान्सफर १८.९ प्रतिशतले वृद्धि भई १० खर्ब ४१ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २३.९ प्रतिशतले बढेको थियो।