राजीनामाको घोषणा गर्दै मुख्यमन्त्री चौधरीले भने– सत्ताको चाकडी गर्ने प्रवृत्तिले प्रशासन अघि बढ्दैन

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्ष दलहरू सहमत भएका छन्।

दाङ– लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मुख्यमन्त्री पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। लुम्बिनी प्रदेशसभालाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन्।

मुख्यमन्त्री चौधरीले प्रदेशसभालाई सम्बोधन गर्दै प्रशासनलाई चुस्त दुरुस्त बनाउन नसकिएको बताए। “सत्ताको चाकडी गर्ने प्रवृत्तिले प्रशासन अघि बढ्न सक्दैन,” उनले भने। कर्मचारी प्रशासनकै कारण विकासे बजेट खर्च न्यून हुने गरेको उनको भनाइ छ। मुख्यमन्त्री चौधरीले सत्ता अस्थायी हुने उल्लेख गर्दै संघीयता जोगाउन सबै एकमतसाथ अघि बढ्नुपर्ने बताए।

लुम्बिनी प्रदेशमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्री बनाउन सत्तापक्ष दलहरू सहमत भएका छन्। एमाले, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसद खड्कबहादुर बस्नेतले पाँचबुँदे सहमति गर्दै महरालाई मुख्यमन्त्री बनाउन सहमत भएका हुन्। 

८७ प्रदेशसभा सदस्य रहेको लुम्बिनीमा बहुमतका लागि ४४ सदस्य चाहिन्छ। लुम्बिनीमा एमालेका २९, माओवादी केन्द्रका १० (सभामुखबाहेक), जनता समाजवादी पार्टीका तीन, एकीकृत समाजवादीका एक तथा एक स्वतन्त्र प्रदेशसभा सदस्यले महरालाई मुख्यमन्त्री बनाउन हस्ताक्षर गरेका छन्।

माओवादी केन्द्रका संसदीय दलका नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपा संसदीय दलका नेता भण्डारीलाल अहिर, एकीकृत समाजवादीका भगवती अधिकारी र स्वतन्त्र सांसद बस्नेतले हस्ताक्षर गरी पाँचबुँदे समझदारी गरेका हुन्।