पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी

पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.५९ प्रतिशत रहेको छ।

काठमाडौँ– पहाडी क्षेत्रमा मूल्यवृद्धि बढी रहेको पाइएको छ। केन्द्रीय बैंकले बिहीबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको आठ महिनाको विवरणअनुसार पहाडी क्षेत्रमा वार्षिक उपभोक्ता मुद्रास्फीति ५.५९ प्रतिशत रहेको छ।

काठमाडौँ उपत्यकाको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८८ प्रतिशत, तराईको ४.४२ प्रतिशत, पहाडको ५.४९ प्रतिशत र हिमालको ४.४२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मुद्रास्फीति क्रमशः ७.९५ प्रतिशत, ७.५० प्रतिशत, ६.६७ प्रतिशत र ८.०७ प्रतिशत रहेको थियो।

गत फागुन महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ३.६९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.१० प्रतिशत रहेको थियो। समीक्षा महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको वार्षिक विन्दुगत थोक मुद्रास्फीति क्रमशः ७.४४ प्रतिशत, १.९७ प्रतिशत र १.६३ प्रतिशत रहेको छ। समीक्षा महिनामा निर्माण सामग्रीको वार्षिक विन्दुगत थोक मुद्रास्फीति ५.६९ प्रतिशतले घटेको छ।

गत फागुन महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ४.८२ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ७.४४ प्रतिशत रहेको थियो। समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ५.९४ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९५ प्रतिशत रहेको छ।

समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक २८.१७ प्रतिशत, तरकारीको १४.०७ प्रतिशत, दाल तथा गेडागुडीको ११.२२ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ७.३५ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ७.११ प्रतिशतले बढेको छ भने घ्यू तथा तेल उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक ११.७९ प्रतिशतले घटेको छ।

समीक्षा महिनामा गैर–खाद्य तथा सेवा समूहअन्तर्गत मनोरञ्जन तथा संस्कृति उपसमूहको वार्षिक विन्दुगत मूल्य सूचकांक १२.६१ प्रतिशत, विविध वस्तु तथा सेवाको १०.६७ प्रतिशत र शिक्षाको ७.३१ प्रतिशतले बढेको छ भने यातायात उपसमूहको वार्षिक बिन्दुगत मूल्य सूचकांक १.१५ प्रतिशतले घटेको छ।