१८ करोडको आयोजनामा ६० लाख बजेट

जिल्लाका दक्षिणी भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जालमा समस्या छ। सरकारले पहिरो नियन्त्रण गर्न भन्दै दुई पटकसम्म अध्ययन गरेको छ। तर डीपीआर बनाउनेबाहेक काम भएको छैन। 

गलकोट– पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक तीन वर्षयता पटक–पटक अवरुद्ध हुँदै आएको छ। पहिरो रोकथामका लागि १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ। 

पहिरोले १०० मिटर सडक नै बगाएको थियो। यसले जिल्लाका दक्षिणी भेग बलेवा, जैमिनी नगरपालिका र बरेङ गाउँपालिकाको सडक सञ्जाल समस्यामा छ। गण्डकी प्रदेश सरकारले दुई पटकसम्म पहिरो समाधानका लागि अध्ययन गरेको छ। तर विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्नेबाहेक काम भएको छैन। पहिरोको अध्ययनमा मात्रै ५७ लाख खर्च भएको छ। 

पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख दिनेशकुमार घिमिरेले पहिरो रोकथाममा १७ करोड ९९ लाख रुपैयाँ लाग्ने भए पनि बजेट ५० लाख मात्रै आउँदा काम गर्न नसकिएको बताए। “पहिरो बर्सेनि बढिरहेको छ। कुश्मिसेरा जाने सडकको दुई वटा घुम्ती र कालीगण्डकी करिडोरसमेत तीन ठाउँमा बगाएको छ। पहिरो बढ्दै जाँदा गलुवाका ६ घर जोखिममा छन्,” उनले भने। 

पहिरोको समस्या समाधानका लागि पूर्वाधार कार्यालयमा चालु आर्थिक वर्षमा ५० लाख र जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङमा १० लाख बजेट आए पनि पहिरो नियन्त्रणसम्बन्धी  काम भएको छैन। पर्याप्त बजेट प्राप्त नहुँदा काम गर्न नसकिएको पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख घिमिरेले बताए।

तत्काल अस्थायी र भविष्यमा दीर्घकालीन समाधानका लागि काम गर्नुपर्ने भए पनि उक्त पहिरो अध्ययनमै सीमित हुँदा जनता मारमा परेको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाको भनाइ छ।

“पहिरो गएको तीन वर्षसम्म नगरपालिकाको डोजरले पहिरो पन्छाउने बाहेक अन्य काम भएको छैन,” थापाले भने, “जनताले दुःख पाइरहने, प्राविधिकले अध्ययन गरिरहने हो भने गलुवा सबै बगेर कालीगण्डकीमा मिसिन्छ ।”

कालीगण्डकी कोरिडोर र करिडोरको वैकल्पिक सडकका रूपमा रहेको बागलुङ–कुश्मिसेरा सडकखण्डमा पहिरोले दुवै सडक र त्यस क्षेत्रको बस्तीलाई क्षति पुर्‍याउने गरेको छ। 

१८ करोडको डीपीआर बनेको परियोजनालाई ६० लाख बजेट प्रदेशले पठाउँदा समस्या भएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताए। 

७५० मिटर लम्बाइ र १५० मिटर चौडा पहिरोले सयौँ रोपनी जमिन बगिसकेको छ। १२ वटा घर जोखिममा छन्।