उत्तरी गाजामा ‘इरेज गेट’ खोल्न इजरायल तयार

अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीपछि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहु ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न सहमत भएका हुन्।

गाजामा राहत सामग्री पुर्‍याउन इजरायलले तीनवटा मार्ग खोल्ने भएको छ। युद्ध शुरू भएयता पहिलो पटक ‘इरेज गेट’ अस्थायी रूपमा खोल्न इजरायल सहमत भएको हो।

मानवीय सहायता सामग्री आगमन सहज बनाउन अस्दोद बन्दरगाह र जोर्डनबाट गाजामा राहत सामग्री प्रवेश गराउन केरेम शालोम क्रसिङ पनि खोलिनेछ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँगको कुराकानीपछि यो निर्णय लिएका हुन्। यसअघि, सोमबार गाजामा इजरायली हमलामा खाद्य तथा परोपकारी संस्था वर्ल्ड सेन्ट्रल किचेनका सात जनाको ज्यान गएपछि संस्थाले खाद्यान्न वितरण रोकेको थियो।

आक्रमण हुनुअघि सहायता कर्मचारीले देइर अल–बालाहको एउटा गोदाममा १०० टन सामान उतारेका थिए। हमला गोदामबाट साढे दुई किलोमिटर टाढा भएको थियो। युद्ध शुरू भएयता राहत सामग्री वितरणमा खटिएका कम्तीमा १९६ राहतकर्मीको मृत्यु भइसकेको  छ।