सुनसरीमा स्थानीय प्रशासनले लगायो कर्फ्यु

सुनसरी प्रशासनले इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगन्ज गाउँपालिका, भोक्राह नरसिंह गाउँपालिका, कोशी गाउँपालिका क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ।

काठमाडौँ– दुई समूहबीचको झडपले तनाव सिर्जना भएपछि स्थानीय प्रशासनले सुनसरीमा कर्फ्यु आदेश जारी गरेको छ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले इनरुवा नगरपालिका, हरिनगर गाउँपालिका, देवानगन्ज गाउँपालिका, भोक्राह नरसिंह गाउँपालिका, कोशी गाउँपालिका क्षेत्रमा लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो।

सुनसरीका कायममुकायम प्रमुख जिल्ला अधिकारी वेदराज फुयलले जारी गरेको आदेशमा शुक्रबार साँझ ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ।

प्रशासनले जारी गरेको विज्ञप्तिमा शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्यनजर राखी सम्भावित मानवीय क्षति कम गर्न तथा सार्वजनिक सम्पत्तिको सुरक्षा गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम अर्को सूचना नभएसम्मका कर्फ्यु जारी गरिएको उल्लेख छ।

यसबीचमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गरीबाहेक आवतजावत गर्न, भेला हुन र सामूहिक रूपमा गरिने सामाजिक, धार्मिक, राजनीतिक सभा, र्‍याली तथा प्रदर्शनमा रोक लगाइएको जनाइएको छ।

“यस आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन, २०२८ अनुसार कारबाही गरिने ब्यहोरासमेत जानकारी गराइन्छ,” उनले भने। विज्ञप्तिमा पूर्वपश्चिम राजमार्गमा लामो दूरीको यात्रुवाहक तथा मालवाहक सवारी साधनलाई निगरानीमा राखी आवतजावत गर्न दिइने उल्लेख छ।

बिहीबार एसईईका क्रममा हरिनगर गाउँपालिका-१ स्थित बालकृष्ण माविमा कुटपिट भएको थियो। त्यसपछि दुई समुदायका व्यक्तिबीच तनाव बढेको थियो। दुवै समूह झडपमा उत्रिएपछि शुक्रबार बिहानैबाट उक्त क्षेत्र तनावग्रस्त बनेको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले टियर ग्यास र हवाई फायर गरेको थियो। झडका क्रममा केही व्यक्ति घाइते भएको जनाइएको छ। झडपका कारण उक्त क्षेत्र अशान्त बनेपछि स्थानीय प्रशासनले निषेधादेश जारी गरेको हो।