लुम्बिनीको मुख्यमन्त्रीमा जोखबहादुर महरा नियुक्त

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्।

काठमाडौँ– लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता जोखबहादुर महरा नियुक्त भएका छन्। लुम्बिनी प्रदेशप्रमुख अमिक शेरचनले महरालाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

प्रदेश प्रमुख शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्र संसदीय दलका नेता महरालाई नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रदेशसभामा रहेका पाँच राजनीतिक दलका ४७ र एक स्वतन्त्रसहित ४८ प्रदेशसभा सदस्य समर्थनमा महराले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

महरालाई मुख्यमन्त्रीमा नेकपा एमालेका २९, नेकपा माओवादी केन्द्रका १०, नागरिक उन्मुक्ति पार्टीका चार, जसपाका तीन, नेकपा एकीकृत समाजवादीका एक र स्वतन्त्र एक सांसदले समर्थन गरेका छन्।

यसअघि डिल्ली चौधरीले मुख्यमन्त्री पदबाट बिहीबार राजीनामा दिएपछि नयाँ सरकार गठन भएको हो। बिहीबार नै सरकार गठन लगायतका विषयमा माओवादी नेता महरा, एमाले संसदीय दलका नेता लीला गिरी, जसपाका भण्डारीलाल अहिर, एकीकृत समाजवादीका दलका नेता भगवती अधिकारी र स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले सातबुँदे सहमति गरेका थिए।