ललितपुरको मेटल उद्योगमा आगलागी हुँदा १ जनाको मृत्यु

हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको छ। 

प्रतीकात्मक तस्वीर

काठमाडौँ– ललितपुरको एक उद्योगमा भएको आगलागीमा परी एक जनाको मृत्यु भएको छ। शनिबार बिहान हात्तीवनस्थित एक मेटल उद्योगमा भएको आगलागीमा परेर एक जनाको मृत्यु भएको हो। 

ललितपुरका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृतकको पहिचान खुलिसकेको छैन।

सोफा बनाउने ‘सिक्मा मेटल इन्टेक्स प्रालि’मा शनिबार बिहान ६ बजेतिर आगलागी भएको थियो। अहिले आगो नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ। आगलागीको कारण नखुले पनि विद्युत् चुहिएको आशंका प्रहरीले गरेको छ।

प्रहरी उपरीक्षक सुवेदीले क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताए। प्रारम्भिक अनुसन्धानका क्रममा उद्योगमा रहेका सोफा तथा कच्चा पदार्थ जलेर नष्ट भएका देखिएको उनले जनाए।