स्थानीय प्रेमप्रसाद चिमोरियाले विस्तारका लागि भनेर सडक भत्काएपछि अहिले एम्बुलेन्ससमेत सञ्चालन गर्न सक्ने अवस्था नभएको बताए। कोही बिरामी पर्दा बोकेर लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ।
काभ्रेपलान्चोक– काभ्रेपलान्चोकको भकुण्डेबेँसी–मेच्छे–मुक्पाटार–तित्रेटार–माम्त सडक निर्माणमा ढिलासुस्ती हुँदा आवागमनमा समस्या हुँदै आएको छ।
सडक विस्तार तथा स्तरोन्नतिको काममा ढिलासुस्ती भएपछि पानी पर्दा हिलो र घाम लाग्दा धुलोका कारण सास्ती खेप्नु परेको भन्दै मेथिनकोटका स्थानीयले आक्रोश पोखेका छन्।
काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिक–४ मेथिनकोटका स्थानीय माधव कँडेलले सडक विस्तारसँगै स्तरोन्नति लागि खनिएकामा निर्माण व्यवसायीले कामलाई निरन्तरता नदिँदा वरिपरिका बस्ती र सडक प्रयोगकर्तालाई समस्या भइरहेको बताए। सडक ठेक्का सम्झौता भई काम थालेर व्यवस्थित बनाउनेतर्फ ध्यान नदिँदा यहाँका नागरिकले सास्ती व्यहोर्नुपरेको उनको भनाइ छ।
सोही ठाउँका प्रेमप्रसाद चिमोरियाले विस्तारका लागि भनेर सडक भत्काएपछि अहिले एम्बुलेन्ससमेत सञ्चालन गर्न सक्ने अवस्था नभएको बताए। कोही बिरामी पर्दा बोकेर लैजानुपर्ने अवस्था रहेको उनको भनाइ छ।
“खनेपछि सोहोरेर सफा गर्दै गाडी आवतजावत गर्ने ठाउँ बनाउनु पर्ने हो। त्यसै छोडिएको छ, कामलाई निरन्तरता दिएको भए राम्रो हुन्थ्यो,” उनले भने, “त्यसो गर्नुको सट्टा खनेर बिगारेपछि महिनौँसम्म सम्म्याउने कामसमेत निर्माण व्यवसायले नगर्दा आवागमनमा सास्ती भइरहेको छ।”
स्थानीय कमलनाथ चिमोरियाले बसाइँ लेकमा र खेतीपाती बेँसीमा भएकाले दैनिक आउजाउ गर्न नै कठिनाइ भइरहेको बताए। भइरहेको सडकलाई खनेर बिगारेपछि समयमा काम गर्नुपर्ने भन्दै त्यसो नगर्दा आवतजावतमा कठिनाइ झेल्नुका साथै सडक आसपासका घरबस्तीमा धुलोले समस्या पुर्याइरहेको उनको भनाइ छ। “भएको सडक खनेर बिगार्यो तर बनाउनेतर्फ ध्यान नै दिएनन्,” चिमोरियाले भने।
स्थानीय बासिन्दा राजन पौडेलले १९ महिनाअगाडि निर्माण शुरू भए पनि भत्काएर लथालिङ्ग पारेपछि आफूहरूले समस्या भोग्दै आएको बताए। आगामी बर्खाभरिमा बाटो सम्पन्न नगर्ने हो भने अझै सास्ती हुने भन्दै छिटो काम सम्पन्न गर्नका लागि सम्बन्धित निकायहरूले दबाब दिन उनले आग्रह गरे।
सडक डिभिजन भक्तपुरका इन्जिनियर विन्दु अधिकारीले बीपी राजमार्गअन्तर्गत भकुण्डेबाट नमोबुद्ध–५ च्यानडाँडासम्म सात किलोमिटर र तेमाल गाउँपालिका–५ को याङवेलबाट चापाखोरीसम्मको ६ किमी सडक विस्तार तथा स्तरोन्नतिका लागि विसं २०७९ साउन १६ गते केएस देवी रमन/तेज जेभीले २० करोड ८९ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको जानकारी दिए। विसं २०८१ साउन १५ गतेसम्ममा सम्पन्न गर्ने गरी काम भइरहेको उनको भनाइ छ।
देवी रमण निर्माण सेवाले सम्झौता गरेर काम नगर्दा समस्या भएको भन्दै हाल अर्को निर्माण कम्पनीले कामको जिम्मा लिएपछि केही प्रगति भएको इन्जिनियर अधिकारीले बताए। उनका अनुसार सम्पन्न गर्नुपर्ने समय सकिन करिब चार महिना मात्रै बाँकी रहँदा जम्मा २२ प्रतिशत मात्रै प्रगति भएको छ। तोकिएको समयसीमाभित्रै काम सम्पन्न गर्नका लागि ताकेता गरिरहेको भन्दै कार्यप्रगतिबारे निरन्तर अनुगमन गरिरहेको उनले बताए।
निर्माण व्यवसायी सचिन बजगाईंले यसअघि सम्झौता गर्ने कम्पनीले काम छोडेपछि आफूले तीन महिनाअघि कामको जिम्मा लिएर निरन्तरता दिएको बताए। पहिला काममा ढिलाइ भएको स्वीकार गर्दै अब कामले निरन्तरता पाउने उनको भनाइ छ। जनशक्ति थप गरेर कामलाई तीव्रता दिने उनले बताए।
“यसअघि १९ महिनामा जम्मा दुई प्रतिशत मात्रै काम भएकामा अहिले २२ प्रतिशत प्रगति भएको छ,” बजगाईंले भने, “असारसम्ममा शुरूको खण्डमा कालोपत्र सम्पन्न गर्नेछौँ। बाँकी समयमा माथिल्लो छ किमीअन्तर्गतको काम गर्छौं।”
सो क्रममा उनले काम गर्ने ठाउँमा परेको विद्युत्को खम्बा, खानेपानीको पाइप, केही ठाउँमा बुद्धचित्त मालाको बोट परेकाले समस्या भएको पारेको भन्दै समाधानका लागि सहयोग गर्न पालिकासँग आग्रह गरे।
तेमाल गाउँपालिकाका उपाध्यक्ष दलमान थोकरले नमोबुद्ध नगरपालिकाभित्र काम भएसँगै पालिकाको सडकखण्डमा पनि काम थालनी गर्न आग्रह गर्दै बीचमा केही समस्या भएमा समन्वय गरेर सहजीकरण गर्न पालिका तयार भएको बताए।
नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले निर्माण व्यवसायीले बीचमा काम छोडेकाले समस्या भएको भन्दै अहिले त्यो समस्या समाधान भएको बताए।
सडक खनेपछि व्यवस्थित नगर्ने र बीचमा काम छोड्ने गरेकाले आगलागी हुँदा या अस्पताल पुर्याउन पनि सवारी सञ्चालन हुने अवस्था नभएको भन्दै अहिले काममा फर्किएको निर्माण कम्पनीलाई निरन्तर रूपमा काममा लाग्न दबाब दिने बताए।
काम रोकिएपछि दुई पटकसम्म सडक डिभिजन कार्यालयमा गएर कामलाई अगाडि बढाउन पहल गरिदिन आग्रह गरेको बताउँदै लामाले निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गरिएको बताए।
जिल्ला समन्वय समितिका प्रमुख दीपक गौतमले कामको अनुगमनपछि कार्यतालिका बनाएर तोकिएको समय सीमाभित्रमा काम सक्ने गरी निरन्तरता दिन र कामको कामको प्रगति विवरण पेस गर्न आग्रह गरे।
“नागरिकको माग समयभित्र काम सम्पन्न गर्नुपर्यो भन्ने छ,” उनले भने, “काम गर्दा बीचमा आइपरेको समस्या समाधान गर्न पालिकाहरू र जिल्ला समन्वय समिति तयार छ। हामी आवश्यक सहजीकरण गर्नेछौँ। नागरिकलाई दुःख दिने काम नगरौँ।”
सम्झौताअनुसार सडक छेउमा पर्खाल लगाउने नाली निर्माण गर्ने, सबबेस, बेस र कालोपत्र गर्नुपर्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
