निर्वाचन आयोगका अनुसार इलाममा वैशाख १५ गते हुने उपनिर्वाचनका लागि स्वतन्त्र आठसहित २० जनाले शनिबार मनोनयन पत्र दर्ता गराएका छन्।
काठमाडौँ– निर्वाचन आयोगले शनिबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म इलाम र बझाङको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयन पत्र दर्ता भएको जनाएको छ। वैशाख १५ गते हुने उपनिर्वाचनका लागि इलाम–२ मा २० जना र बझाङ प्रदेशसभा (१) मा १२ उम्मेदवारले मनोनयन पत्र दर्ता गराएको निर्वाचन आयोगका उपसचिव एवं सहायक प्रवक्ता रामदत्त पाण्डेयले बताए।
उनका अनुसार इलाममा स्वतन्त्र आठसहित २० जनाले शनिबार मनोनयन पत्र दर्ता गराएका छन्। बझाङमा भने राजनीतिक दलमा आवद्ध उम्मदेवारको मात्र मनोनयन दर्ता भएको छ। इलाममा मनोनयन दर्ता गराउने सबै पुरुष उम्मेदवार छन् भने बझाङमा एक जना महिलासहित १२ जनाको उम्मेदवारी परेको हो।
एमालेका प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको भदौ २६ मा निधन भएपछि इलाममा उपनिर्वाचन हुन लागेको हो भने प्रदेशसभा सदस्य बझाङ १ (क)बाट निर्वाचित कांग्रेसका पृथ्वीबहादुर सिंहको गत असार ५ गते सवारी दुर्घटनामा परी निधन भएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो।
आयोगका अनुसार इलाममा हुने उपनिर्वाचनका लागि अर्जुनबहादुर शाही, केशवकुमार चापागाईं, डकेन्द्रसिंह लिम्बू, डाकप्रसाद गौतम, दिपेश बोहोरा, मनोज निरौला, योगेन्द्र गुरुङ, राज वश्यालले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गराएका हुन्।
जनमत पार्टीका तर्फबाट प्रेमकुमार थाम्सुहाङले उम्मेदवारी दिए। मनोनयनअघि चर्चामा नै नआएको नेपाल मजदुर किसान पार्टी (नेमकिपा)ले पनि उम्मेदवार उठाएको छ। नेमकिपाबाट मोरङका श्यामबहादुर दर्जीले उम्मेदवार दर्ता गराएका हुन्। जनमत पार्टी र नेमकिपाले इलाम–२ मा अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिएनन्।
त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका तर्फबाट गणेशबहादुर चौहान, नेकपा एकीकृत समाजवादीका तर्फबाट जीतबहादुर राई र राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट लक्ष्मी गुरुङले उम्मेदवारी दर्ता गराए।
मुख्य प्रतिस्पर्धीका रूपमा रहेका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका डम्बर खड्काले पनि केन्द्रीय नेताहरूसहित स्थानीय कार्यकर्तालाई साथमा लिएर मनोनयन दर्ता गराउन पुगे। जिल्ला सभापतिसमेत रहेका खड्का गत निर्वाचनमा सुवासचन्द्र नेम्वाङसँग पराजित भएका थिए।
नेकपा एमालेका तर्फबाट सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराए। उनी दिवंगत नेता सुवासचन्द्र नेम्वाङका पुत्र हुन्। उनले पनि नेता–कार्यकर्तासहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराए। उनलाई नेकपा माओवादी केन्द्रले पनि साथ दिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार मिलन लिम्बूले मनोनयन पत्र दर्ता गराए। रास्वपाका उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीसहितको टोलीसँग मुख्य निर्वाचन अधिकृतको कार्यालय इलाममा पुगेर लिम्बूले मनोनयन पत्र दर्ता गराएका हुन्।
मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट मनीबहादुर लिम्बू, नेसनल रिपब्लिक नेपालका तर्फबाट धनराज राना मगर, राष्ट्रिय मुक्ति आन्दोलनका तर्फबाट जयवन्तविक्रम शाह र नेपाली जनता दलका तर्फबाट रेशमबहादुर सुनारले मनोनयन दर्ता गराएका छन्।
बझाङको उपनिर्वाचका लागि नेकपा एमालेबाट दमनबहादुर भण्डारी, नेकपा एकीकृत समाजवादीबाट दिलबहादुर सिंह, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रामबहादुर जाग्री र राष्ट्रिय मातृभूमि पार्टीबाट गजेन्द्रबहादुर थापाले उम्मेदवारी दर्ता गराए। त्यस्तै, नेपाली कांग्रेसका तर्फबाट अभिषेकबहादुर सिंहले उम्मेदवारी दर्ता गराएका छन्।
नेकपा माओवादी केन्द्रका तर्फबाट जनकबहादुर बुढा, नेपाल मजदुर किसान पार्टीबाट खगेन्द्रबहादुर शाही, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट दीपकबहादुर खड्का र नेसनल रिपब्लिक पार्टीबाट कमल घर्ती मगरको उम्मेदवारी दर्ता भएको छ।
यसैगरी, नागरिक उन्मुक्ति पार्टीबाट सुशीलादेवी विष्ट, नेपाली जनता दलबाट अशोक सुनार र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट किशोरकुमार खड्काले उम्मेदवारी दर्ता गरेका छन्।
आयोगले आइतबार उम्मेदवारको विरोधमा उजुरी दिने, सोमबार मनोनयनपत्र र उजुरीमाथि छानबिन गर्ने र उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरेको छ। त्यस्तै, मंगलबार उम्मेदवारको नाम फिर्ता लिने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिह्न वितरण गर्ने र वैशाख १५ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
