गण्डकीको मुख्यमन्त्रीमा खगराज अधिकारीको दाबी पेस

अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न निवेदन बुझाएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए। 

गण्डकी– गण्डकी प्रदेश सरकारको मुख्यमन्त्रीमा नेकपा एमाले प्रदेशसभा संसदीय दलका नेता खगराज अधिकारीले दाबी पेस गरेका छन्।  

अधिकारीले ३१ प्रदेशसभा सदस्यको समर्थन जुटाएर प्रदेशप्रमुख डिल्लीराज भट्टसमक्ष मुख्यमन्त्रीमा नियुक्त गर्न आइतबार निवेदन बुझाएको एमाले संसदीय दलका प्रमुख सचेतक गोविन्द नेपालीले जानकारी दिए। 

नेता अधिकारीलाई एमालेका २२, नेकपा माओवादी केन्द्रका आठ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन रहेको उनको भनाइ छ। कूल ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री बन्न ३१ प्रदेशसभा सदस्यको समर्थन चाहिन्छ। 

गत बिहीबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख भट्टले यही चैत २७ गतेसम्म मुख्यमन्त्रीमा दाबी गर्न समय दिएका छन्। 

समयसीमा सकिनुभन्दा दुईदिन अगावै गठबन्धन दलले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्। कूल २७ सदस्य रहेको प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका पाण्डेले विश्वासको मत पाउने आधार नदेखेपछि राजीनामा दिएका थिए। 

तत्कालीन सत्ता साझेदार माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो। दुई सदस्य रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी भने प्रदेश सरकारलाई समर्थन गर्ने/नगर्ने विषयमा अनिर्णीत छ।