लुम्बिनीमा मुख्यमन्त्री र ३ मन्त्रीले लिए शपथ

लुम्बिनी प्रदेशका मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्।

तस्वीर : गोरखापत्र

काठमाडौँ– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री र तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन्। शुक्रबार मुख्यमन्त्री नियुक्ति भएका जोखबहादुर महराले आइतबार प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएलगत्तै मन्त्रिपरिषद् गठन गरेका हुन्।

उनले नेकपा एमाले, माओवादी केन्द्र र जनता समाजवादी पार्टी, नेपालका एक/एक जना प्रदेशसभा सदस्यलाई मन्त्री नियुक्त गरे। मुख्यमन्त्री महराको सिफारिसमा प्रदेशप्रमुख शेरचनले एमालेका चेतनारायण आचार्य, माओवादी केन्द्रका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरेका हुन्।

उनीहरूले पनि प्रदेश प्रमुख शेरचनसमक्ष बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा पद तथा गोपनीयताको शपथ लिए। नवनियुक्त मन्त्रीलाई जिम्मेवारी भने तोकिएको छैन।

महरा शुक्रबार नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्रसहित ४८ सांसदको समर्थनमा संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त भएका थिए।

डिल्ली चौधरीले मुख्यमन्त्री पदबाट बिहीबार राजीनामा दिएका पछि नयाँ सरकार गठनको बाटो खुलेको थियो। लुम्बिनीमा सरकार गठन लगायतका विषयमा माओवादी, एमाले, जसपा, एकीकृत समाजवादी पार्टी र स्वतन्त्र प्रदेशसभा सदस्य खड्ग बस्नेतले सातबुँदे सहमति गरेका छन्।