सिरहामा हतियारधारी समूहले लुट्यो मनी ट्रान्सफरको १५ लाख रुपैयाँ

सिरहामा आइतबार दिउँसो हतियारधारी एक समूहले ‘मनी ट्रान्सफर’को रकम लुटपाट गरेको छ।

प्रतीकात्मक तस्वीर

सिरहा– सिरहामा आइतबार दिउँसो हतियारधारी एक समूहले ‘मनी ट्रान्सफर’को रकम लुटपाट गरेको छ।

विष्णुपुर गाउँपालिकामा रहेको एक मनी ट्रान्सफरका लागि पुरुषोत्तम यादवले १५ लाख ५० हजार रुपैयाँ लैजाने क्रममा हतियाधारीले उक्त रकम लुटेका हुन्।

जिल्ला प्रहरी कार्यालयदेखि करिब ५०० मिटर उत्तर महिसोथा जाने बाटो नजिकबाट रकम लुटपाट भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका लुटेराले स९प ६३१० नम्बरको मोटरसाइकलमा आउँदै गरेका यादवलाई रोकी उनको साथमा भएको रकम लुटपाट गरेको प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार हतियारधारीले यादवसँग भएका ग्लोबल आईएमई बैंकका दुई वटा र राष्ट्रिय वाणिज्य बैंकका तीन वटा खाली चेक तथा मोबाइल लुटेर लगेका छन्।

सो रकम विष्णुपुर गाउँपालिका-१ का कुशेश्वर यादवले सञ्चालन गर्दै आएको मनी ट्रान्सफरको रहेको बताइएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मुक्तिनाथ सापकोटाले घटनाको पुष्टि गर्दै थप विवरण संकलन भइरहेको जानकारी दिए। उनका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।