नेपाल ‘ए’विरुद्धको शृंखलामा आयरल्यान्ड उल्भ्सको ‘क्लिनस्विप’

आइतबार भएको शृंखलाको अन्तिम खेलमा जितका लागि २८५ रनको लक्ष्य पाएको नेपाल ‘ए’ले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै २१५ रन मात्र बनाउन सक्यो।

काठमाडौँ– नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृंखला आयरल्यान्ड उल्भ्सले ‘क्लिनस्विप’ गरेको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आइतबार भएको प्रतियोगिताको तेस्रो खेलमा नेपाल ‘ए’लाई ६९ रनले पराजित गर्दै आयरल्यान्ड उल्भ्सले शृंखला क्लिनस्विप गरेको हो। आयरल्यान्ड उल्भ्सले पहिलो खेल २१ रनले र दोस्रो खेल ११४ रनले जितेको थियो।

आइतबार भएको शृंखलाको अन्तिम खेलमा जितका लागि २८५ रनको लक्ष्य पाएको नेपाल ‘ए’ले ३९.४ ओभरमा सबै विकेट गुमाउँदै २१५ रन मात्र बनाउन सक्यो। नेपालका लागि अर्जुन कुमालले सर्वाधिक १०२ रनको योगदान दिए। उनले ११८ बल खेल्ने क्रममा १४ चौका प्रहार गरे। 

त्यसैगरी अर्जुन साउदले ३० बलमा ४ चौका र ३ छक्काको साहयताले ३६ रन बनाए भने नरेन भट्ट र रुपेश सिंहले समान १५/१५ रन बनाए। देव खनालले ११ रन जोड्दा साहब आलमले ६ रनमा आउट भए। 

आयरल्यान्ड उल्भ्सको जितमा बिन ह्वाइट एक्लैले पाँच विकेट लिए भने गाभिन होयले चार विकेट झारे। त्यस्तै म्याथ्यु फोस्टरले एक विकेट लिए। 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड उल्भ्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २८४ रनको योगफल बनाएको थियो। 

आयरल्यान्ड उल्भ्सका लागि स्टिफन डोहनीले शतकीय इनिङ्स खेले। उनले १२९ बल खेल्दै ८ चौका र २ छक्काको सहयोगमा १०७ रनको योगदान दिएका थिए। त्यस्तै पिटर मुरले २४ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४४ रन बनाए। म्याथ्यु हम्फ्रेजले २३ रन बनाए भने मोर्गन टोप्पिङले २१ रन बनाए। त्यस्तै, फिन ह्यान्डले २० रन जोडे। 

नेपाल ‘ए’का रिजन ढकाल र रञ्जित कुमारले समान ३/३ विकेट लिए भने  विकास आग्री र साहब आलमले समान १/१ विकेट लिए।