सर्बियाविरूद्धको खेलमा ब्राजिलले जित निकाले पनि मुख्य फरवार्ड नेयमार घाइते भए। यो विश्वकपमा कम्तिमा दुई खेल गुमाउने निश्चित भएका उनी अधिकांश ठूला प्रतियोगितामा विपक्षी खेलाडीको 'तारो' हुने गरेका छन्।
कतार विश्वकपमा पहिलो खेल सर्बियाविरूद्ध खेलेको ब्राजिलले २–० को जित निकाल्यो। तर, उक्त खेलमा मुख्य फरवार्ड नेयमारले पूरा ९० मिनेट मैदानमा बिताउन पाएनन्।
८० मिनेटसम्म मैदानमा रहेका नेयमारले खेल अवधिभर नै विपक्षी खेलाडीको शारीरिक प्रहार झेलिरहे। कुल नौ फउल भोगेका उनी मैदान छाड्दै गर्दा अत्यधिक पीडामा देखिए । टोलीका चिकित्सक उनको सुन्निएको खुट्टामा बरफ लगाएर सेकिरहेका थिए।
बेन्चमा पुग्दासम्म उनले बगिरहेको आँसु लुकाउन सकेनन्। आफ्नो टोलीको विजय उत्सव पनि मनाउन सकेनन्। बरु बुट फुकाले र सुन्निएको खुट्टा देखाउँदै ड्रेसिङ रूमतिर लागे।
पेरिस सेन्ट–जर्मन (पीएसजी)बाट व्यावसायिक फुटबल खेल्ने यी फरवार्ड अब कम्तिमा दुई खेलमा मैदान उत्रन सक्नेछैनन्। ब्राजिलले दोस्रो खेल स्विट्जरल्यान्ड्ससँग खेल्दैछ।
ब्राजिलियन टोलीका चिकित्सक रोड्रिगो लास्मारले जारी गरेको विज्ञप्तिअनुसार नेयमारको लिगामेन्ट र हड्डीमा समस्या देखिएको छ। ‘‘नेयमारले शुक्रबार एमआरआई गराएका थिए। यसक्रममा खुट्टाको लिगामेन्टमा क्षति भएको देख्यौँ’’ उनले विज्ञप्तिमा भनेका छन्, ‘‘यो खासै ठूलो समस्या होइन। केही दिन आराम गर्नुपर्ने हुन्छ ।’’
७९औँ मिनेटमा सर्बियन डिफेन्डर निकालो मिलेन्कोभिचको ट्याकलका कारण चोट बोकेपछि नेयमारलाई त्यसको ११ मिनेटपछि परिवर्तन गरिएको थियो। उपचारका क्रममा नेयमार अनुहार छोपेर बसेका थिए। तस्वीरमा उनको दाहिने खुट्टा सुन्निएको देखाइएको थियो।
खेल जितेपछि नेयमारले ट्विटरमा भनेका छन्, ‘‘ठूलो खेल, तर जित्नु महत्त्वपूर्ण थियो। बधाई छ टोली, पहिलो कदम चालियो। अझै छ कदम बाँकी छ।’’
सर्बियाविरुद्धको जितपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटे नेयमारले आगामी खेल खेल्न सक्नेमा विश्वस्त थिए। तर, एमआरआई रिपोर्टअनुसार उनले कम्तीमा पनि एक साता आराम गर्नुपर्ने भएको छ।
सन् २०१४ देखि नियमित ब्राजिलको टोलीबाट विश्वकप खेल्दै आएका नेयमारले मुख्य प्रतियोगितामा बोकेको यो नै पहिलो चोट भने हैन। नेयमारको दाहिने खुट्टाको समस्या विगतदेखि बल्झिँदै आएको छ। सन् २०१८ को रसिया विश्वकपअघि पनि नेयमारको दायाँ खुट्टाको औँला भाँचिएको थियो। त्यसपछि शल्यक्रिया गरेका उनलाई फिट हुन करिब तीन महिना लागेको थियो।
खुट्टाको चोटकै कारण उनले सन् २०१९ कोपा अमेरिकासमेत गुमाउनु परेको थियो। जुन प्रतियोगिताको फाइनलमा ब्राजिलले पेरुलाई ३–१ ले पराजित गर्दै नवौँ पटक उपाधि जितेको थियो। त्यति बेला पनि करिब दुई महिना उनी मैदानमा देखिएका थिएनन्। उनले लिग वानका अन्तिम चरणका सबै खेलहरू गुमाउन परेको थियो।
नेयमारले सन् २०२१/२२ को सिजनमा मात्रै चोट र फिटनेसका कारण पीएसजीबाट ९० भन्दा बढी खेल गुमाएका थिए। सन् २०१४ मा घरेलु भूमिमा आयोजना भएको विश्वकप पनि उनले चोटकै कारण गुमाउनु परेको तितो इतिहास छ।
नेयमार तत्कालीन समयमा ब्राजिलका पोस्टर ‘ब्वाई’ थिए। उनले सन् २०१३ कन्फेडेरेसन कपमा ब्राजिललाई स्वर्ण दिलाएका थिए।
सान्तोसबाट क्याटलान क्लब बार्सिलोना गएको एक वर्षमै प्रभावशाली खेल प्रदर्शन गरेर स्टार खेलाडीको छाप छाडे। उनीमाथि ब्राजिललाई ठूलो आशा र भरोसा थियो। सोही अनुसार उनले समूह चरणको खेलमा प्रदर्शन पनि नगरेका होइनन्।
ब्राजिल समूह ‘ए’ को शीर्ष स्थानमा रहँदा उनले क्रोएसियाविरुद्धको खेलमा दुई गोल गरे। क्यामरूनविरूद्ध एक गोल गर्दै ‘गोल्डेन बुट’को दाबेदारी प्रस्तुत गरेका थिए।
यद्यपि, नेयमारको यात्रा क्वार्टरफाइनलसम्म सीमित रह्यो। कोलम्बियाविरुद्धको खेलमा नेयमारले गोल गर्न नसके पनि टोलीका लागि उत्कृष्ट भूमिका निर्वाह गरे। खेलको सातौँ मिनेटमै उनले कर्नरबाट दिएको पासमा थियागो सिल्भाले टोलीलाई अग्रता दिलाए। त्यसपछि खेलको ६८औँ मिनेटमा डेभिड लुइसले गोल गर्दै अग्रता दोब्बर बनाए।
ब्राजिल जिततर्फ उन्मुख रहेका बेला अन्तिम समयमा कोलम्बियन खेलाडी जुआन क्यामिलो जुनिगाले घुँडाले प्रहार गर्दा उनको ढाडको मेरुदण्ड भाँचिन पुग्यो। नेयमारबिना खेलेको टोली सेमिफाइनलमा जर्मनीसँग ७–१ को अप्रत्याशित हार बेहोर्दै प्रतियोगिताबाट बाहिरिएको थियो।
नेयमारले बार्सिलोनाका लागि २०१४/१५ मा (ला लिगा, कोपा डेल रे र च्यापियन्स लिग) ‘ट्रेबल’ जिताए।
नेयमार धेरै घाइते हुनुको पछाडिको कारण उनकै खेल्ने शैली रहेको ब्राजिलका महान् फुटबलर पेलेको तर्क छ। “नेयमार ब्राजिलको फुटबल शैली साम्बामा खेल्छन् रूचाउँछन्। जसमा ड्रिलिङ कौशल हुन्छ। नेयमार अनावश्यक ड्रिलिङ गर्दै डिफेन्डरलाई समस्यामा पार्न खोज्छन्। यस्तो अवस्थामा उनलाई ट्याकल गर्दा सजिलै लड्न पुग्छन्”, पेलेको भनाइ उधृत गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
फुटबलको शुरूआती समयमा साम्बा शैली उपयुक्त देखिएपनि करिअर लम्ब्याउन भने खेलाडीले यसलाई अपनाउन नहुने उनी बताउँछन्। “क्रिस्टियानो रोनाल्डोजस्ता खेलाडीहरूले शुरूआती पेजमा धेरै चोट बोक्ने गरेका थिए। तर, समय बित्दै जाँदा उनीहरूले आफ्नो करिअर बचाउनका लागि खेल्ने शैली परिवर्तन गरे”, उनी भन्छन्, “कि त नेयमारले लिओनल मेस्सीको ड्रिब्लिङको अनुकरण गर्नुपर्छ। खेलमा कौशलको सट्टा उनको जस्तो बुद्धिमत्ता र नियन्त्रणमा पनि चाहिन्छ।”
पाँचपटकको विश्व विजेता ब्राजिलले डिसेम्बर २ मा क्यामरुनविरुद्ध खेल्दै कतार विश्वकपअन्तर्गत समूह चरणsf खेल सकाउने छ। त्यसअघि समूह ‘जी’ को अंक तालिकाको दोस्रो स्थानमा रहेको स्विट्जरल्यान्ड्ससँग खेल्ने छ। मुख्य प्रशिक्षक टिटेले नेयमारको स्थानमा रोड्रिगोलाई मौका दिन सक्छन्। टिटेले खेलाडीलाई आफ्नो रणनीतिका बारेमा जानकारी गराइसकेका छन्। अभ्यासका क्रममा रोड्रिगोलाई नेयमारको स्थानमा प्रयोग पनि गरिसकिएको छ।
“हामी उत्साहित रहनेछौँ, यो टोलीको विशेषता नै यही हो”, ब्राजिलका गोलरक्षक एलिसन ब्रेकरको भनाइलाई उद्धृत गर्दै एपीले लेखेको छ, “यी प्रतिकूल परिस्थितिको बाबजुद टोली बलियो छ।”
-एजेन्सीको सहयोगमा
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
