गाजामा ७ जना राहतकर्मी मारिएपछि इजरायलमाथि युद्धविरामको दबाब बढीरहेको छ। यहीबीच इजरायलले गाजाबाट आफ्ना सेनाको संख्या घटाउने निर्णय गरेको छ।
इजरायल र प्यालेस्टिनी सशस्त्र समूह हमासबीचको युद्ध आइतबार सातौँ महिनामा प्रवेश गरेको छ। अझै पनि गाजामा इजरायली आक्रमण जारी छ।
इजरायली आक्रमणबाट गाजा क्षेत्रमा दैनिक दर्जनाैँ प्यालेस्टिनी नागरिकले ज्यान गुमाइरहेका छन्। अलजजिराका अनुसार इजरायली सेनाको आक्रमणबाट अहिलेसम्म झन्डै १४ हजार बालबालिकासहित ३३ हजार भन्दा धेरै प्यालेस्टिनीले ज्यान गुमाइसकेका छन्।
यसबीच एकपटक मात्र अस्थायी युद्धविराम भएको थियो। जसमा दुवै पक्षले सम्झौताअनुरूप केही संख्यामा बन्धक रिहा गरेका थिए। त्यसपछि पनि पटकपटक युद्धविरामको लागि प्रयास भए तर सफल भएनन्। फेरि एकपटक युद्धविराम र बन्धक रिहाइ सम्झौताको मध्यस्थताका लागि अमेरिका र अन्य वार्ता टोली कायरोमा भेट्ने कायक्रम तय भएको छ।
इजिप्टको ‘अल–काहेरा न्युज’का अनुसार अमेरिकी गुप्तचर संस्था सीआईएका निर्देशक बिल बन्त्रस, कतारी प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान बिन जसिम अल थानी र इजिप्टका मध्यस्थकर्ताले इजरायली र हमास प्रतिनिधिमण्डलबीच आज आइतबार हुने अप्रत्यक्ष वार्ताका लागि इजिप्टमा मध्यस्थता गर्नेछन्।
यहीबीच इजरायलले गाजाबाट आफ्ना सेनाको संख्या घटाउने निर्णय पनि गरेको छ। इजरायलले दक्षिणी गाजाबाट एउटा ब्रिगेडबाहेक सबै सैनिक फिर्ता बोलाएको आइतबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। इजरायलको सरकारी स्वामित्वको कान टिभी समाचारका अनुसार नयाँ ‘सुरक्षा क्षेत्र’ स्थापना भएपछि इजरायली रक्षा बल (आईडीएफ)ले गाजाको वरिपरि रहेको इजरायली क्षेत्रमा आफूलाई पुनर्गठित गरेको छ।
आईडीएफ स्रोतलाई उद्धृत गर्दै समाचारमा भनिएको छ, “इजरायली सेनाले अब गुप्तचरमा आधारित छापामा ध्यान केन्द्रित गर्नेछ र आवश्यकता अनुसार गाजाबाट फर्कने छ।” साथै सेनाको यो बहिर्गमन ‘राजनीतिक दबाब’सँग नजोडिएको पनि सेनाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
गत अक्टोबर ७ मा हमासका लडाकुले इजरायली भूमिमा गरेको अकल्पनीय आक्रमण नै गाजा युद्धको मुख्य कारण हो। त्यस आक्रमणमा एक हजार १७० जनाको मृत्यु भएको इजरायली तथ्यांकले देखाएको छ। उक्त आक्रमणपछि प्यालेस्टिनी लडाकुहरूले करिब २५० इजरायली र विदेशी नागरिकलाई पनि बन्धक बनाएका थिए जसमध्ये १०० को हाराहारीमा गत नोभेम्बर महिनामा भएको युद्धविरामपछि फिर्ता भएका थिए। नेपालका विपिन जोशी पनि हमासकै नियन्त्रणमा रहेको बताइएको छ। बन्धक बनाइएका करिब १३० व्यक्ति गाजामा रहेका र ३० भन्दा बढीको मृत्यु भइसकेको हुनसक्ने इजरायली सेनाले बताएको छ।
सहायताकर्मीको मृत्युपछि चौतर्फी दबाब
गाजा युद्धमा कार्यरत सहायताकर्मी इजरायली आक्रमणबाट मारिएपछि युद्धविरामको लागि विश्वभरबाट दबाब आइरहेको छ। अप्रिल १ को रातमा, सहायता समूह ‘वल्र्ड सेन्ट्रल किचेन–डब्ल्यूसीके’ का ट्रकहरूमै इजरायली सेनाको ड्रोनले गरेको आक्रमणमा सात जना राहत कार्यकर्ता मारिएका थिए। यही घटनाले बाइडेनलाई कडा अडान लिन बाध्य बनायो।
त्यसको तीन दिनपछि अप्रिल ४ मा अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुबीच करिब ३० मिनेट टेलिफोन वार्ता भएको थियो। यस क्रममा बाइडेनले इजरायलले गाजामा राहत कार्यकर्ता र नागरिकहरूलाई बचाउन ठोस कदम चालेन भने वासिंगटनले इजरायलको वर्तमान सैन्य अभियानलाई समर्थन नगर्ने बताएका थिए।
इजरायलको आजीवन समर्थक मानिने बाइडेनले नेतन्याहुलाई आफ्नो अडान परिवर्तन नगरे अमेरिकाले इजरायललाई सहयोग गर्न बन्द गर्ने र हतियारसमेत उपलब्ध नगर्ने बताएका थिए। आक्रमणपछि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकनले भने, "हामीले हेर्न चाहेको परिवर्तन भएन भने हाम्रो आफ्नै नीतिमा परिवर्तन हुनेछ।"
अमेरिकासँगै बेलायत, अस्ट्रेलिया र क्यानडाले पनि इजरायली आक्रमणको कडा आलोचना गरेका छन्। इजरायलमा हमासले गरेको आतंकवादी हमला र त्यसपछि इजरायली सेनाले गरेको जवाफी हमलापछि पश्चिमा राष्ट्रहरूले नेतन्याहुलाई यति बलियो सन्देश दिएको यो पहिलो पटक हो।
बाइडेनले इजिप्ट र कतारका नेताहरूलाई पत्र लेख्दै हमासबाट ‘सम्झौतामा सहमत हुने र त्यसको पालना गर्ने’ प्रतिबद्धता सुनिश्चित गर्न आग्रह गरेका छन्।
इजरायली नागरिक आन्दोलित
गाजामा इजरायलको आक्रमणको विरोधमा इजरायली नागरिक सरकारको विरोधमा उत्रिन थालेका छन्। शनिबार मात्रै १० हजार इजरायलीले राजधानी तेलअभिभ र अन्य शहरमा नेतन्याहुविरुद्ध प्रदर्शन गर्दै ‘निर्वाचन’ को माग गरे।
हमासले कब्जामा लिएका इल्हाद कात्जिरको शव फेला परेपछि जनताको आक्रोश भड्कियो र हजारौँ मानिस शनिबार इजरायलको सडकमा उत्रिएका थिए।
कात्जिरकी बहिनी कार्मिट पल्टी कात्जिरले आफ्नो भाइको मृत्युको लागि इजरायली अधिकारीहरूलाई दोषी ठहराउँदै नयाँ युद्धविराम सम्झौता भएको भए उनको भाइ जीवित हुने बताएकी छन्।
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका विपक्षीहरूले तेल अभिभसहित देशका ५० स्थानमा एक लाख मानिसले प्रदर्शन गरेको दाबी गरेका छन्। अपहरणमा परेकाका परिवारका सदस्य पनि सरकार विरोधी प्रदर्शनकारीमा सामेल भएका थिए।
प्रदर्शनकारीहरूले नेतन्याहुको तत्काल राजीनामा र चुनावको माग गरेका थिए। हमासको हिरासतमा कम्तीमा १३० इजरायली बन्धकहरू छन्। इजरायली प्रदर्शनकारीहरूले यी बन्धकहरूलाई मुक्त गर्न जतिसक्दो चाँडो बन्धक सम्झौता गर्न जोड दिइरहेका छन्।
इजिप्टको कायरोमा आइतबार हुने भइरहेको वार्ताले यस विषयमा टुंगो लाउन सक्ने अपेक्षा गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
