ओपीडी सेवा १२ घण्टा पुर्‍याउने गण्डकी प्रदेश सरकारको निर्णय

मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरंग (ओपीडी) सेवालाई थप गरी १२ घण्टा पुर्‍याउने निर्णय गरेका छन्।

कास्की– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले जिल्ला अस्पतालले प्रदान गर्ने बहिरंग (ओपीडी) सेवालाई थप गरी १२ घण्टा पुर्‍याउने निर्णय गरेका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार पदभार ग्रहण गर्दै उनले सो निर्णय गरेका हुन्।

जिल्ला अस्पतालहरूले बिहान १० देखि साँझ ५ बजेसम्म ‘ओपीडी’ सेवा सञ्चालन गर्दै आएकामा प्रदेश सरकारको पछिल्लो निर्णयसँगै बिहान ७ देखि साँझ ७ बजेसम्म उक्त सेवा सञ्चालन गर्नेछन्। 

त्यसअघि मुख्यमन्त्री अधिकारीले शहीद उद्यान र पुष्पलाल स्मृति उद्यामा पुगी शहीदको प्रतिमामा माल्यार्पण गरेका थिए। नेकपा एमालेसहित नेकपा माओवादी केन्द्र र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका हुन्। 

प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको धारा, १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्। यसअघि नेपाली कांग्रेसबाट निर्वाचित सुरेन्द्रराज पाण्डेले पदबाट राजीनामा दिएपछि एमालेको नेतृत्वमा प्रदेश सरकार बनेको हो। 

कांग्रेसले भने मुख्यमन्त्री नियुक्ति प्रक्रियाप्रति असहमति जनाएको छ। मुख्यमन्त्री अधिकारीले एमालेका २२, माओवादी केन्द्रका आठ (सभामुखसहित) र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थन जुटाएर मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेस गरेका थिए। अधिकारी कास्की–१ (क) बाट प्रदेशसभामा निर्वाचित भएका थिए।