आईपीएल: लखनऊसँग गुजरात पराजित

लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो।

इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४ अन्तर्गत आइतबार भएको दोस्रो खेलमा लखनऊ सुपर जाइन्ट्स विजयी भएको छ। लखनऊले गुजरात टाइटन्समाथि ३३ रनको जित हासिल गरेको हो। 

लखनऊले दिएको १६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८.५ ओभरमा सबै विकेट गुमाउँदै १३० रन मात्र बनाउन सक्यो। गुजरातका साई सुदर्शनले बनाएको ३१ रन नै सर्वाधिक रन बन्यो। यस्तै, राहुल तेवातियालिए ३० र शुभमन गिलले १९ तथा विजय शंकरले १७ रन बनाए भने अन्यको उल्लेखनीय प्रदर्शन रहन सकेन।

लखनऊका लागि यस ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर ५ विकेट लिए। उनलाई क्रुनाल पाण्ड्याले ४ ओभरमा मात्र ११ रन खर्चँदै ३ विकेट लिएर राम्रो साथ दिए।

यसअघि पहिले ब्याटिङ गरेको लखनऊले मार्कस स्टोइनिसको अर्धशतकको मद्दतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १६३ रन बनाएको थियो। स्टोइनिसले ४३ बलमा ४ चौका र २ छक्का हिर्काए। कप्तान केएल राहुलले ३३ रन तथा निकोलस पुरनले ३२ रन बनाए।

आयुश बडोनीले ११ बलमा २० रनको योगदान दिए। गुजरातका लागि उमेश यादव र दर्शन नलकन्डेले २–२ विकेट लिए। 

यो जितपछि लखनऊ ४ खेलमा ३ जितसहित तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जितसहित सातौँ स्थानमा छ।