सुनको मूल्य लगातार बढ्दै, तोलाको १ लाख ३६ हजार नाघ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुन तोलामा ६ सयले वृद्धि भएको छ।

काठमाडौँ– केही दिन यता सुनचाँदी दुवैको मूल्यले निरन्तर नयाँ रेकर्ड कायम गर्दै आएको छ। सोमबार पनि स्थानीय बजारमा सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन तोलामा ६०० ले वृद्धि भएको छ।

आइतबार प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि भने एक लाख ३६ हजार २०० रुपैयाँ कायम भएको छ। तेजाबी सुन तोलामा एक लाख ३५ हजार ५५० तय भएको छ। आइतबार तेजाबी सुन तोलामा एक लाख ३४ हजार ९५० मा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। आइतबार तोलामा एक हजार ६७० रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि भने एक हजार ६८५ रुपैयाँ निर्धारण भएको छ।