कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवंगत आफन्तको नाममा पिण्डदानका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो।
म्याग्दी– मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेका धार्मिकस्थल कागबेनी र मुक्तिनाथ मन्दिरमा सोमबार भक्तजनको घुइँचो लागेको छ। कालीगण्डकीको तटमा अवस्थित कागबेनीमा औँसी तिथि पारेर दिवंगत आफन्तको नाममा पिण्डदान र पुण्य प्राप्तिका लागि मुक्तिनाथ मन्दिरको दर्शन गर्नेको बिहानैदेखि घुइँचो लागेको हो।
कागबेनीस्थित जनशान्ति माविका शिक्षक मनवीर किसानले दिवंगत आफन्तको स्मरणमा पिण्डदान र तर्पण गर्नेहरूको बिहान ५ बजेदेखि नै कालीगण्डकी किनारमा घुइँचो लागेको जानकारी दिए। “चैतेदशैँअघिको औँसी तिथिमा कागबेनीमा श्रद्धा र तर्पण गरे पितृले मोक्ष पाउने धार्मिक विश्वास रहेको छ,” उनले भने, “नेपालका सबैजसो जिल्लाका साथै भारतबाट आएका हजारौँ भक्तजनले एकै दिन कागबेनीमा पिण्डदान गरेका छन्।”
बडादशैँ र चैतेदशैँ शुरू हुने औँसीमा पिण्डदान गर्दा दिवंगत भएकाले मुक्ति पाउने धार्मिक विश्वास छ। कागबेनीमा पिण्डदान गरेपछि भक्तजन समुन्द्री सतहदेखि तीन हजार ८०० मिटर उचाइको मुक्तिनाथ मन्दिरको दर्शन र पूजाआजा गर्न पुग्दछन्।
मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार विष्णु भगवानको दर्शन, मूर्तिलाई पूजाआजा, १०८ धारामा स्नान र परिसरमा रहेका दुई वटा पोखरीमा डुबिल्की मारेमा जान अञ्जानमा गरेका पाप नष्ट भई पुण्य मिल्ने धार्मिक विश्वास छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार आइतबार एक हजार २०७ वटा गाडीमा ११ हजार १९२ नेपाली र ३४७ जना विदेशी, शनिबार ४३७ वटा गाडीमा तीन हजार ५२७ नेपाली र ४५६ विदेशी पर्यटक भित्रिएका थिए। शनिबार र आइतबार मुस्ताङ भित्रिएकामध्ये अधिकांश कागबेनीमा पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने भक्तजन रहेका प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले बताए।
“तीर्थयात्री र पर्यटकलाई लक्षित गरेर जोमसोममा प्रहरीले स्वास्थ्य सहायता कक्ष सञ्चालन गरेको छ,” उनले भने, “तीर्थयात्रुको सुरक्षा, पूजा व्यवस्थापन र यातायात व्यवस्थापनमा पनि सुरक्षाकर्मी परिचालन गरिएको छ।”
बडादशैँ र चैतैदशैँअघिको सोह्रश्राद्ध तथा औँशी तिथिमा कागबेनीमा दिवंगत आफन्तलाई पिण्डदान र मुक्तिनाथ दर्शन गर्ने तीर्थयात्रीको भीड लाग्ने गर्दछ। गत बर्खामा बाढीले क्षति पुर्याएको कागबेनीमा अस्थायी संरचना बनाएर पिण्डदान गर्ने व्यवस्था मिलाएको कागबेनीका अगुवा धारा गुरुङले बताए।
वार्षिक परीक्षापछि विद्यालय बिदा भएको, अनुकूल मौसमका कारण मुस्ताङ घुम्नेको पनि चहलपहल बढेको छ। बिदाको फुर्सदमा परिवारसहित मुक्तिनाथ हुँदै कोरलासम्म घुम्न निस्किएको धवलागिरि गाउँपालिका–७ ताकमका शिक्षक जीवन पौडेलले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
