३८ वर्षमा १०९ गैँडा स्थानान्तरण, विभिन्न देशलाई २६ उपहार

भारतीय महाद्वीपको उत्तरी क्षेत्रअन्तर्गत बह्मपुत्र, इन्दुस र गंगा नदीको बहाव क्षेत्रमा विचरण गर्ने एकसिङे गैँडा हाल नेपालको तराई भूपरिधि क्षेत्र तथा भारतको संरक्षित क्षेत्रमा सीमित हुन पुगेका छन्।

काठमाडौँ– चितवन राष्ट्रिय निकुञ्ज विश्वमै दुर्लभ एकसिङे गैँडाको बासस्थानका लागि उर्वर क्षेत्रका मा रहेको छ। कूल ९५२.६३ वर्ग किलोमिटर क्षेत्रफल रहेको यस निकुञ्जमा हाल ६९४ वटा गैँडा छन्। 

गैँडाको वैकल्पिक संख्या तयार गर्ने उद्देश्यले सन् १९८६ देखि २०२३ सम्म चितवन राष्ट्रिय निकुञ्जबाट बर्दिया राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोसीटप्पु वन्यजन्तु आरक्षमा गरी १०२ वटा गैँडा स्थानान्तरण गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

थप सात गैँडाको यही चैतमा चितवन निकुञ्जभित्रै आन्तरिक स्थानान्तरण एवं कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट श्यामकुमार शाहले जानकारी दिए। उनका अनुसार सोही अवधिमा विभिन्न देशलाई २६ गैँडा उपहारस्वरूप प्रदान गरिएको छ।

नेपालले पहिलो पटक सन् १९८५ मा भारतको दुदुवा नेसनल पार्कलाई चार गैँडा उपहारस्वरूप प्रदान गरेको विभागले जनाएको छ। त्यसपछि सन् २०१८ सम्म संयुक्त राज्य अमेरिका, जर्मनी, सिंगापुर, बांग्लादेश, संयुक्त अधिराज्य, जापान, अष्ट्रिया र चीनलाई विभिन्न मितिमा २२ गैँडा उपहारस्वरूप प्रदान गरिसकेको विभागको तथ्यांकमा उल्लेख गरिएको छ।

आन्तरिक स्थानान्तरणको सम्भाव्यता अध्ययनअनुसार चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको घनत्व बढी भई यसको वृद्धि दरमा ह्रास आएको पाइएपछि पछिल्लो समय गैँडाको आन्तरिक एवं कोसीटप्पु वन्यजन्तु आरक्षमा स्थानान्तरण गरिएको निकुञ्ज कार्यालयले जनाएको छ।

उक्त अध्ययनका आधारमा वन तथा वातावरण मन्त्रालय (सचिवस्तर)को गत माघ २४ गतेको निर्णयानुसार निकुञ्जको पश्चिम क्षेत्रबाट पूर्वी क्षेत्रमा छ वटा गैँडा स्थानान्तरण कार्य सम्पन्न भएको छ। स्थानान्तरण कार्य यही चैत २ गतेदेखि प्रारम्भ गरिएको थियो। यस स्थानान्तरणबाट गैँडाको संख्या वृद्धिदर बढ्नुका साथै उपलब्ध बासस्थानको उच्चतम् प्रयोगमा आउने अपेक्षा राखिएको विभागका इकोलोजिष्ट शाहले बताए।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले सम्भाव्यता अध्ययनपश्चात् कोसीटप्पु वन्यजन्तु आरक्षमा ‘राइनो सेन्चुरी’को विकास गर्ने लक्ष्य लिएको छ। उक्त लक्ष्यअनुसार मन्त्रालय (मन्त्रीस्तर)को गत असोज ८ गतेको निर्णयानुसार चितवन राष्ट्रिय निकुञ्जबाट कोसीटप्पुमा दुई पोथी गैँडा (पुष्पा र अञ्जली)लाई गत असोज १० गते विश्वपर्यटन दिवसका अवसरमा स्थानान्तरण गरिएको थियो।

हालैमात्र थप एक भाले गैँडा कोसीटप्पु आरक्षमा स्थानान्तरण गरिए पनि चोट लागेर घाउ भएपछि केही दिनमै उपचारका लागि पुनःचितवनमा फिर्ता ल्याइएको छ। चितवनको कसरामा रहेको उक्त गैँडा उपचारपछि पुनः कोसीटप्पुमा लगिने विभागका सूचना अधिकारी एवं वरिष्ठ इकोलोजिष्ट शाहले जानकारी दिए।

कोसीटप्पु आरक्षमा ‘राइनो सेन्चुरी’को विकास क्रमसँगै गैँडाको प्रजनन भई दीगो संरक्षण एवं व्यवस्थापन हुने अपेक्षा गरिएको उनको भनाइ छ। सो क्षेत्रमा ‘राइनो सेन्चुरी’का लागि आवश्यक पूर्वाधार बनाउँदै जाने र आगामी वर्षमा थप संरचना बनाउने उनले बताए।

विश्वमा एकसिङे गैँडाको संख्या ४ हजार
भारतीय महाद्वीपको उत्तरी क्षेत्रअन्तर्गत बह्मपुत्र, इन्दुस र गंगा नदीको बहाव क्षेत्रमा विचरण गर्ने एकसिङे गैँडा हाल नेपालको तराई भूपरिधि क्षेत्र तथा भारतको संरक्षित क्षेत्रमा सीमित हुन पुगेका छन्। विश्वमा करिब चार हजारको संख्यामा रहेका एकसिङे गैँडा नेपालमा सन् २०२२ को राष्ट्रिय गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ६९४, बर्दिया राष्ट्रिय निकुञ्ज ३८, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ र पर्सा राष्ट्रिय निकुञ्जमा तीन गरी सात सय ५२ वटा रहेका विभागले जनाएको छ।

यो प्रजाति आयुसिएनको संवेदनशील वर्गमा, साइटिसको अनुसूची १ मा र नेपालको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को अनुसूची १ (संरक्षित वन्यजन्तु)मा पर्दछ। गैँडाको खागका लागि हुने चोरी, सिकार, बासस्थानको विनाश एवं ह्रास र जलवायु परिवर्तनको प्रभाव यसको संरक्षणका लागि मुख्य चुनौती देखिएको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयका वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए। 

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा मात्र विभिन्न कारणले २६ गैँडाको मृत्यु भएको थियो। सोमध्ये प्राकृतिक कारणले २२, चोरी, सिकार र करेन्ट लागेर दुई/दुई गैँडाको मृत्यु भएको उनले जानकारी दिए।

चालु आवको यही चैत २१ गतेसम्म १९ वटा गैँडाको मृत्यु भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए। तीमध्ये प्राकृतिक (उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट) कारणबाट १५, चोरी, सिकारबाट तीन र अन्य कारणबाट एक गैँडाको मृत्यु भएको थियो।