नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सांसद गिरी पदमुक्त

नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्।

काठमाडौँ– नागरिक उन्मुक्ति पार्टीका सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरी पदमुक्त भएकी छन्।

नागरिक उन्मुक्तिले प्रदेशसभा सचिवालयमा चैत २१ गते गिरीलाई फिर्ता बोलाइएको जानकारी गराएको थियो। त्यसपछि सभामुख भीमबहादुर भण्डारीको निर्देशनमा प्रदेशसभा सचिवालयले गिरी पदमुक्त भएको सूचना निकालेको हो। उनी प्रदेशसभामा समानुपातिक सांसद हुन्।

“प्रदेशसभा सदस्य माननीय इन्दिरा गिरीलाई फिर्ता बोलाइएको भनी सुदूरपश्चिम प्रदेशसभाको सचिवलयमा पेश भएकाले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३५ बमोजिम सूचना प्रकाशित गर्न सभामुखकाे निर्देशन भएको हुँदा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,” प्रदेशसभा सचिव देवबहादुर बोगटीद्वारा जारी सूचनामा भनिएको छ।