भारतको नैनीतालमा जिप दुर्घटना, ७ नेपालीको मृत्यु

नैनीतालको बेतालघाट मल्लागाँउबाट टनकपुरतर्फ आइरहेको जिप मंगलबार बिहान दुर्घटना भएको हो। मृत्यु भएका सबै नेपाली नैनीताल क्षेत्रमा पानी सम्बन्धी परियोजना निर्माणमा मजदुरी गर्दै आएका थिए। 

काठमाडौँ– भारतको उत्तराखण्ड राज्यको नैनीताल जिल्लामा जिप दुर्घटना हुँदा सात जना नेपाली मजदुरको मृत्यु भएको छ। 

मंगलबार बिहान १:३० बजे नैनीतालको बेतालघाट मल्लागाँउबाट टनकपुरतर्फ आइरहेको जप दुर्घटना भएको थियो।

सो दुर्घटनामा सात नेपाली र जिप चालकसमेत आठ जनाको घटनास्थलमा नै ज्यान गएको भारतीय प्रहरीले जनाएको छ। 

हिन्दूस्थान टाइम्सका अनुसार टनकपुरतर्फ आइरहेको जिप सडकबाट २०० मिटर तल खोलामा खसेको थियो। मृत्यु भएका सबै नैनीताल क्षेत्रमा पानी सम्बन्धी परियोजना निर्माणको काममा मजदुरी गर्दै आएका थिए। 

मृत्यु हुनेमा नेपाली नागरिक विसराम धौधरी, धिरज चौधरी, अनन्तराम चौधरी, विनोद चौधरी, उदयराम चौधरी, तिलकराम चौधरी र गोपाल चौधरी रहेका छन्। 

दुर्घटनामा दुई नेपाली शान्ति र छोटु चौधरी घाइते भएका छन्। तीव्र गतिमा रहेको जिप अनियन्त्रित भएर दुर्घटना भएको घाइतेले बताएका छन्। 

मृतकको नेपालको ठेगाना भने खुल्न बाँकी छ। एकै कम्पनीमा कार्यरत मजदुरहरू नैनीतालबाट जिप रिजर्भ गरेर टनकपुरतर्फ आइरहेका थिए।