राप्रपाको प्रदर्शनमा झडप, प्रहरीले प्रहार गर्‍यो टियर ग्यास र पानीको फोहरा

प्रदर्शनकारीले निषेधित क्षेत्र उल्लंघन गर्ने प्रयास गरेपछि सिंहदरबारअगाडि भद्रकाली सडकमा प्रहरीसँग झडप भएको हो।

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबार काठमाडौँमा आयोजना गरेको प्रदर्शनका क्रममा झडप भएको छ। सरकारसमक्ष पेस गरेको ४० बुँदे माग पूरा गराउन दबाब सिर्जना गर्ने भन्दै राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको हो। 

राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा गणतन्त्र र धर्मनिरपेक्षताको विरोधलगातका माग अघि सार्दै प्रदर्शन गरेको थियो। शहरका विभिन्न क्षेत्रबाट जुलुससहित आएका राप्रपाका कार्यकर्ता भृकुटीमण्डपमा भेला भएका थिए। नाराबाजी गर्दै अगाडि बढ्ने क्रममा उनीहरूले निषेधित क्षेत्र उल्लंघन गर्ने प्रयास गरेपछि सुरक्षाकर्मीले रोक्ने प्रयास गर्दा सिंहदरबारअगाडि भद्रकाली सडकमा झडप भएको हो। 

प्रदर्शनकारीलाई नियन्त्रणमा लिन लाठी चार्ज, केही सेल टियर ग्यास र पानीको फोहरासमेत प्रयोग गर्नुपरेको प्रहरीले जनाएको छ। झडपका कारण केही कार्यकर्ता घाइते भएको राप्रपाको भनाइ छ। 

राप्रपाको जुलुसका कारण काठमाडौँ उपत्यकाको सवारी व्यवस्थापन र आवागमनमा अस्तव्यस्त बनेको छ। सिंहदरबार अगाडिको मुख्य सडकमा झन्डै दुई घण्टादेखि सवारीसाधन आवागमन अवरुद्ध भएको छ।