उपनिर्वाचन हुने क्षेत्रका विद्यालयमा २ दिन बिदाको प्रस्ताव

आयोगले वैशाख १५ गते हुने उपनिर्वाचनका लागि चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।

काठमाडौँ– निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयरहित र सुरक्षित वातावरणमा सम्पन्न गर्न यही चैत २८ गतेदेखि सम्बन्धित क्षेत्रमा निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको छ।

आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकको सिफारिस समेतका आधारमा प्रतिनिधिसभाको इलाम–२ र बझाङको प्रदेशसभा निर्वाचन क्षेत्र नं १ मा आचारसंहिता लागू गराउन जिल्ला निर्वाचन आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिने निर्णय पनि गरेको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा मंगलबार जारी विज्ञप्तिमा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आचारसंहिताको पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको सम्बन्धमा नेपाल प्रहरी, अन्य सुरक्षा निकाय, कुनै कार्यालय वा व्यक्तिमार्फत आवश्यक सूचना र विवरण लिई तत्काल कारबाही गर्न निर्देशन दिइएको छ।

यसैगरी, राजनीतिक दल, उम्मेदवार, दलको भ्रातृ संगठन तथा सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरण जुलुस, आमसभा, कोणसभा, बैठक या भेलासम्बन्धी विषय, सवारीसाधनको प्रयोग र सञ्चारमाध्यमको प्रयोगसम्बन्धी विषय र निर्वाचन खर्चसम्बन्धी विषयमा दैनिक विवरण लिन भनिएको छ।

आयोगले उपनिर्वाचन हुने क्षेत्रमा दुई दिन विद्यालयमा बिदा दिन सरकारसँग अनुरोध गरेको छ। आयोगले उपनिर्वाचनका लागि मतदान तथा निर्वाचनसम्बन्धी व्यवस्थापकीय कार्य सञ्चालन गर्न वैशाख १३ र १४ गते विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत सरकारमा लेखी पठाउने निर्णय गरेको हो।

आयोगमा रहेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचन सुरक्षा व्यवस्थाका सम्बन्धमा पनि तयारी समीक्षा गरेको आयोगले जनाएको छ।