साझाले सञ्चालनमा ल्यायो १.१ मेगावाट क्षमताको चार्जिङ स्टेसन

साझा यातायातले ठूला विद्युतीय बस चार्ज गर्न चार्जिङ स्टेसन प्रयोगमा ल्याएसँगै आफूसँग रहेका सबै बिजुली बस पूर्ण क्षमतामा सञ्चालनमा ल्याइने जनाएको छ।

तस्वीर : नेपाल फोटो लाइब्रेरी

काठमाडौँ– ललितपुरको पुल्चोकस्थित साझा यातायातको परिसरमा ठूला विद्युतीय बस चार्ज गर्न मिल्ने चार्जिङ स्टेसनको शुभारम्भ गरिएको छ। उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मंगलबार चार्जिङ स्टेसनको उद्घाटन गरेका हुन्।

साझा यातायातले देशकै पहिलो १.१ मेगावाट क्षमताको २२ वटा विद्युतीय बस चार्ज गर्न सकिने चार्जिङ स्टेसन सञ्चालनमा ल्याइएको जनाएको छ। चार्जिङ स्टेसनमा प्रयोगमा आएसँगै ४० वटा विद्युतीय बसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने साझा यातायातका अध्यक्ष कनकमणि दीक्षित बताउँछन्।

साझा यातायातद्वारा सञ्चालित २६ सिटे विद्युतीय बसमा पूर्ण चार्ज हुन ४५ मिनेट लाग्ने छ। एक पटकको पूर्ण चार्जपछि विद्युतीय २०० किलोमिटरसम्म गुड्न सक्ने साझाले जनाएको छ।

उपत्यकामा बिजुली बसको बढ्दो माग
कार्यक्रममा मन्त्री महासेठले विद्युतीय सवारीसाधनको प्रयोग वृद्धि गर्ने गरी गृहकार्य भइरहेको बताए। पेट्रोलियम पदार्थको आयात प्रतिस्थापन गर्न विद्युतीय सवारीसाधन सञ्चालन गर्नुपर्नेमा उनको जोड थियो।

सार्वजनिक यातायातलाई विद्युतीकरण गर्न सके देशको अर्थतन्त्रले गति लिने कार्यक्रमका अन्य वक्ताले पनि भनाइ राखेका थिए। कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङले काठमाडौँ उपत्यकामा चल्ने सार्वजनिक यातायातमा विद्युतीय सवारीसाधनको संख्या बढाउनुपर्ने आवश्यकता औँल्याए। उपत्यकामा विद्युतीय बस सञ्चालन गर्न सके इन्धनको खपत कम हुनुका साथै वायुको गुणस्तरमा सुधार आउने उनको भनाइ थियो। 

विद्युतीय बस सञ्चालन गर्दा इन्धन बसको भन्दा १५ गुणासम्म सस्तो पर्ने उल्लेख गर्दै भने, “१८० किलोमिटर गुड्ने विद्युतीय सवारी एक पटक चार्ज गरेबापत १०६ रुपैयाँ लाग्छ। इन्धनवाला सवारीमा इन्धन हाल्न ३५०० रुपैयाँ लाग्छ। यसरी हेर्दा त न्यूनतम १० गुणादेखि १५ गुणासम्म सस्तो पर्ने देखिन्छ।”

हिउँदेयाममा विद्युत् उत्पादन कम‍ हुने समस्या समाधान गरिएसँगै विद्युतीय सवारीसाधनको चार्जिङमा ऊर्जाको समस्या पनि हट्ने उनको भनाइ थियो।

अध्यक्ष दीक्षितले पनि दिनभर सञ्चालनमा आउने सार्वजनिक सवारीसाधन रातिको समयमा चार्ज गर्दा खेर गइरहेको विद्युतीय ऊर्जा प्रयोगमा आउने बताए। 


साझाको आगामी योजना
साझा यातायातले पहिलो चरणमा ४० वटा विद्युतीय बस ल्याएको हो। दोस्रो चरणमा विकसित विद्युतीय बस थप्ने साझाको योजना छ। अध्यक्ष दीक्षितका अनुसार अहिले सञ्चालनमा आएका बसहरू नौ मिटर लम्बाइका हुन्। यी बसमा ५० जना यात्रु यात्रा गर्न सक्ने क्षमता छ। अब १२ मिटरसम्म लम्बाइका बस खरिद गर्ने योजनाअनुसार काम भइरहेको अध्यक्ष दीक्षितले सुनाए। यसका लागि प्रक्रियासमेत शुरू भइसकेको उनको भनाइ थियो।

“साझा यातायातले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा १२ मिटरवला बस खरिदको प्रक्रिया थालेको छ, ताकि विद्युतीय परिवहन सेवा थप सबल र सर्वत्र उपलब्ध होस्,” उनले भने।

यद्यपि, आयात गरिने बस राख्न र चार्जिङ स्टेसन विस्तार गर्नका लागि जग्गा अभाव रहेको उल्लेख गर्दै उनले जग्गाको व्यवस्थापन गरिदिन मन्त्री महासेठसँग अनुरोधसमेत गरे। साझा यातायात आफैँ पनि विभिन्न पालिकासँगको सहकार्यमा चार्जिङ स्टेसन निर्माणमा जुटिरहेको समेत अध्यक्ष दीक्षितले बताए। 

साझाले सार्वजनिक यातायातका क्षेत्रमा अनुसन्धान र अन्वेषण गर्ने गरी ‘सार्वजनिक यातायात अध्ययन र परिचालन केन्द्र’ स्थापना गर्ने योजना पनि अघि सारेको छ। जसले सार्वजनिक यातायातसम्बन्धी प्राविधिक, आर्थिक र सामाजिक पक्ष अध्ययन गर्ने अध्यक्ष दीक्षित बताउँछन्। साथै प्रदेश जोड्ने ‘प्रान्तीय सेवा’अन्तर्गत लामो दूरीका सुविधायुक्त बस सञ्चालनका लागि खरिद प्रक्रिया अघि बढेको पनि उनले सुनाए।