ह्विलचियर बास्केटबलको सेमिफाइनलमा पुगे २ विभागीयसहित ८ टोली

दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबलमा दुई विभागीयसहित आठ टोली सेमिफाइनलमा पुगेका छन्।

काठमाडौँ– दोस्रो उपत्यकास्तरीय ह्विलचियर बास्केटबल प्रतियोगितामा दुई विभागीयसहित आठ टोली सेमिफाइनलमा पुगेका छन्।

नेपाल स्पाइनल कर्ड इन्ज्यरी खेलकुद संघ (एनएससीआईएसए)को आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा मंगलबारदेखि शुरू भएको प्रतियोगिताको पहिलो दिन महिला र पुरुषतर्फ चार/चार गरी आठ टोली सेमिफाइनल पुगेका हुन्।

आयोजकका अनुसार पुरुषतर्फ पुल ‘ए’को विजेता बन्दै एससीआईएनएन सेमिफाइनलमा पुगेको छ। एससीआईएनएनले बीआईएलाई २२–२० र ह्विलचियर स्पोर्ट्स एसोसिएसन (डब्ल्यूएसए)लाई ४७–१० स्कोरले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो।

फाइनल प्रवेशका लागि एससीआईएनएनले पुल ‘बी’ को उपविजेता सशस्त्र प्रहरीको एपीएफसँग खेल्ने छ। एपीएफ पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीसँग २६–२१ स्कोरले पराजित भएको थियो। तर, दोस्रो खेलमा आयोजक एनएससीआईएसएलाई २७–७ स्कोरले पराजित गर्दै एपीएफले अन्तिम चारमा स्थान बनाउन सफल भयो।

यस्तै, एपीएफ रहेकै पोलबाट आर्मी विजेता बन्दै सेमिफाइनलमा पुग्यो। आर्मीले एनएससीआईएसए ३२–१५ को स्कोरमा पराजित गरेको थियो। आर्मीले फाइनल प्रवेशका लागि पुल ‘ए’ को उपविजेता बीआईएसँग खेल्ने छ। 

बीआईएले डब्ल्यूएसएलाई १८–० स्कोरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

यस्तै, महिलातर्फ महिलातर्फ पुल ‘ए’ बाट विजेता बन्दै एससीआईएनएन सेमिफाइनलमा पुगेको छ। एससीआईएनएनले बीआईएलाई ८–६, डब्ल्यूएसएलाई २१–० र निडवानलाई १६–० ले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। उसले फाइनल प्रवेशका लागि विइनसँग खेल्ने छ। पोल ‘बी’को उपविजेता विइन पहिलो खेलमा जावलाखेल ह्विलचियर स्पोर्ट्स क्लब (जेडब्यूएससी)सँग २८–० स्कोरले पराजित बेहोरेको थियो। तर, दोस्रो खेलमा आयोजक एनएससीआईएसएलाई ८–० स्कोरले पराजित गर्दै अन्तिम चारमा आफ्नो स्थान पक्का गर्‍यो।

यस्तै, पुल ‘बी’को विजेता जेडब्यूएससीले पुल ‘ए’को उव‍पविजेता बीआईएसँग फाइनल प्रवेशको लागि खेल्ने भएको छ। जेडब्यूएससीले विइनलाई २८–० र आयोजक एनएससीआईएसएलाई २९–० स्कोरले पराजित गर्दै बीआईएसँगको भेट पक्का गरेको हो। बीआईएले डब्ल्यूएसएलाई ८–९ स्कोरले पराजित गरेको थियो।

सेमिफाइनल र फाइनल खेल बुधबार हुनेछन्। प्रतियोगिताको विजेताले ५० हजार र उपविजेता टोलीले ४० हजार रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै, तेस्रो हुने टोलीले ३० हजार र प्रतियोगिताभर दुवै टोलीको हाइ स्कोरले २५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ।