च्याम्पियन्स लिग: म्यानचेस्टर सिटी र रियल मड्रिडको रोमाञ्चक बराबरी

मंगलबार राति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल ३–३ को बराबरीमा सकिएको हो।

काठमाडौँ– युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलअन्तर्गत पहिलो लेगमा म्यानचेस्टर सिटी र रियल मड्रिडले रोमाञ्चक बराबरी खेलेका छन्। 

मंगलबार राति रियलको घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेल ३–३ को बराबरीमा सकिएको हो।

खेलको दोस्रो मिनेटमा नै बर्नार्डो सिल्भाले सिटीलाई अग्रता दिलाए। १२औँ मिनेटमा रियलले उपहार गोलबाट खेल बराबरी गर्‍यो। 

१४औँ मिनेटमा रोड्रीगोले गोल गरेपछि रियलले खेलमा अग्रता लियो। ६६औँ मिनेटमा सिटीका फिल फोडेनले गोल गरे। ७१औँ मिनेटमा डिफेन्डर जोस्को गवार्डीओलको गोलमा सिटीले अग्रता लियो।  

७९औँ मिनेटमा फेडेरिको भालभर्डेले गोल गर्दै खेल बराबरी गरे। दोस्रो लेग सिटीको घरेलु मैदानमा हुनेछ। 

यस्तै, अर्को क्वार्टरफाइनलको पहिलो लेगमा आर्सनल र बायर्न म्युनिखले पनि २–२ को बराबरी खेलेका छन्।

आर्सनलको घरेलु मैदान इमिरेट्स स्टेडियममा भएको खेलमा आर्सनलका बुकायो साका र लियोनार्दो ट्रोसार्डले गोल गरे। बार्यनका सर्ज गनाब्री र ह्यारी केनले गोल गरेका थिए।