पाकिस्तानी सिनेटको अध्यक्षमा पूर्वप्रधानमन्त्री गिलानी निर्वाचित

पाकिस्तान पिपुल्स पार्टीको तर्फबाट निर्वाचित सांसद गिलानी सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए। 

पाकिस्तानका पूर्वप्रधानमन्त्री युसुफ रजा गिलानी त्यहाँको संसद्को माथिल्लो सदन (सिनेट) को अध्यक्षमा निर्वाचित भएका छन्। 

सिनेटको अध्यक्षका लागि गिलानीबाहेक कसैले पनि उम्मेदवारी नदिएपछि निर्विरोध निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिका अध्यक्ष सिनेटर इशाक डारले जानकारी दिए। 

पाकिस्तान पिपुल्स पार्टीको तर्फबाट निर्वाचित सांसद गिलानी सन् २००८ देखि २०१२ सम्म प्रधानमन्त्री बनेका थिए। 

त्यसैगरी, सत्तारुढ पाकिस्तान मुस्लिम लिग–नवाजका सैयदल खान नासिर पनि पाकिस्तानी सिनेटको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्।

पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले नवनिर्वाचित सदस्यको शपथ ग्रहण र सिनेटका अध्यक्ष र उपाध्यक्षको निर्वाचनका लागि मंगलबार संसद्को उद्घाटन सत्रको बैठक बोलाएका थिए।

सन् २०२४ अप्रिल २ मा भएको निर्वाचनपछि सिनेटको यो पहिलो अधिवेशन हो । 

पाकिस्तानको निर्वाचन आयोगले उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तमा सिनेटको चुनाव स्थगित गरेपछि पूर्वप्रधानमन्त्री इमरान खानको विपक्षी दल पाकिस्तान तेहरिक–ए–इन्साफका सांसदले निर्वाचनको विरोध गरेका थिए।

यसैबीच, अध्यक्षको शपथ लिएपछि गिलानीले सिनेटरले एकता प्रस्तुत गरेको र सिनेटले राष्ट्रको विविधता र शक्तिको प्रतिनिधित्व गरेको बताए। 

देशको प्रगतिका लागि पुल निर्माण गर्न, संवादलाई सक्षम बनाउन र संसदीय मान्यताभित्र रहेर असहमतिका लागि स्थान प्रदान गर्न सक्रिय भूमिका निर्वाह गर्ने उनले बताए।