गाउँको बीचमा पहिराले ठाडो चिरा बनाएको छ। खेतबारी र जंगल चिराचिरा परेको छ। यसअघि नै भूगर्भविद्को टोलीले चौरखानीमा बसोबासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो।
म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका–८ चौरखानी गाउँ रित्तिन थालेको छ। भिरालो पाखामा रहेको चौरखानी गाउँको फेदबाट शिरसम्मको जमिन पहिराले छियाछिया बनाएपछि स्थानीयवासी थातथलो छाडेर अन्यत्र हिँडेका हुन्। चौरखानीका ५३ मध्ये हाल २५ घरपरिवारको मात्र बसोबास रहेको टोल सुधार समितिका संयोजक प्रेम छन्त्यालले बताए।
“२०६३ सालमा चौरखानीका ५३ वटै घरमा बसोबास थियो,” उनले भने, “शिक्षा, स्वास्थ्य, रोजगारी र अवसरको खोजीमा गाउँ छाडेर जाने क्रमलाई पहिरोको समस्याले झन् बढायो।” वडाध्यक्ष गमान छन्त्यालका अनुसार पछिल्लो तीन वर्षयता पहिराले १८ वटा घर भत्किएका छन्। आम्दानीको स्रोत हुनेले बजार र अन्य ठाउँमा जग्गा किनेर घर बनाई बसाइँ सरेका छन्। आधाले घर छाडेर बेनी, पोखरा, काठमाडौँलगायत ठाउँमा गएर बसेका हुन्। घर भए पनि बसोबास छैन। बर्खामा गोठमा गएर बस्ने गरेका छन्।
गत वर्ष सात परिवारले चौरखानीको डाँडामा घर सारेका थिए। थप ६ वटा घर पुनः निर्माण भइरहेको छ। गाउँपालिकाले पहिरोबाट घर भत्किएकालाई पुनः निर्माणका लागि पाँच लाख रुपैयाँका दरले अनुदान उपलब्ध गराएको वडाध्यक्ष छन्त्यालले बताए।
“पहिरोले हजारौँ रोपनी खेतीयोग्य जग्गा नष्ट भएको छ,” उनले भने, “रोकथामको प्रयास सफल नभएपछि गाउँ छाडेर अन्यत्र बसाइँ सरेर जाने क्रम बढेको हो।” यहाँ छन्त्याल र दलित समुदायको बसोबास छ। हाल दलित समुदायको एउटा मात्र घर छ।
भूगर्भविद्को टोलीले चौरखानीमा बसोबासका लागि जोखिमयुक्त भएकाले बस्ती सार्न सिफारिस गरेको थियो। गाउँको बीचमा पहिराले ठाडो चिरा बनाएको छ। खेतबारी र जंगल चिराचिरा परेको छ। पहिरोले उठिबास लगाएपछि बसाइँसराइ गरेको रेश विकले बताए। उनको परिवार हाल गाउँपालिकाको केन्द्र मौवाफाँटमा बसोबास गर्छ।
दुई किलोमिटर तल रघुगंगा नदीको किनारबाट शुरू भएको पहिरो चौरखानीको शिरमा रहेको पहाडको फेदीमा पुगेको स्थानीय रामप्रसाद छन्त्यालले बताए। बर्सेनि ग्याबिन पर्खाल र भल व्यवस्थापन गरे पनि पहिरो रोकिएको छैन।
पहिरो रोकथामको प्रयास सफल नभएकाले गाउँलाई नै अन्यत्र स्थानान्तरण गर्न जग्गाको खोजी गरिरहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
